काठमाडौँ । प्रभु बैंकको अर्बौँ रुपैयाँ बराबरको ऋण अपचलन प्रकरणमा अदालतले ठूलो कदम चालेको छ। बैंकिङ कसूरको यस गम्भीर मुद्दामा पक्राउ परेका प्रतिवादी ओम प्रसाद पाण्डेलाई उच्च अदालत पाटनले पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो र सघन अनुसन्धान गरेपश्चात् विशेष सरकारी वकिलको कार्यालयमार्फत सोमबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामाथि सुनुवाइ गर्दै संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र कविप्रसाद न्यौपानेको इजलासले पाण्डेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
रु. ७२ करोडभन्दा बढीको बिगो दाबी
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत दर्ता गरिएको यस मुद्दामा रु. ७२ करोड ७७ लाख ६ हजार ९०० र ६ पैसा बिगो कायम गरिएको छ। बैंकको ऋण अपचलन गरी वित्तीय प्रणालीमा ठूलो क्षति पुर्याएको अभियोगमा सीआईबीले बलियो प्रमाणसहित मुद्दा अघि बढाएको हो।
हाइप्रोफाइल बैंकरसहित ११ जना फरार, पक्राउ पुर्जी जारी
यस प्रकरणमा प्रभु बैंकका तत्कालीन उच्च अधिकारी र व्यवसायीसहित १२ जनालाई प्रतिवादी बनाइएको छ। अदालतमा उपस्थित गराइएका ओम प्रसाद पाण्डेबाहेक अन्य ११ जना प्रतिवादीहरू हाल फरार रहेका छन्। अदालतले फरार रहेका सबै अभियुक्तहरूलाई तत्काल पक्राउ गरी कारागार पठाउन पक्राउ पुर्जी समेत जारी गरेको छ।
प्रतिवादीहरूको सूची:
- ओम प्रसाद पाण्डे (पूर्पक्षका लागि जेल चलान)
- अशोक शेरचन (फरार)
- मनिराम पोखरेल (फरार)
- ऋवश श्रेष्ठ (फरार)
- रश्मी पन्त (फरार)
- देव ढुङ्गाना (फरार)
- हरिमान लामा (फरार)
- धन बहादुर शेरचन (फरार)
- महावीर तामाङ (फरार)
- देवान राई (फरार)
- सुरेश कुमार तिवारी (फरार)
- हरिकृष्ण भट्टचन (फरार)
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीको कमान्डमा रहेको सीआईबीले पछिल्लो समय ठूला र जटिल आर्थिक अपराधका मुद्दाहरूमा एकपछि अर्को सफलता हात पारिरहेको छ। यसअघि बहुचर्चित बिचौलिया दीपक भट्ट जोडिएको मुद्दामा पनि सीआईबीले सफलतापूर्वक अनुसन्धान टुङ्ग्याएको थियो।







प्रतिक्रिया दिनुहोस्