काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचनको तयारी तीव्र बनाइएको छ। पार्टी निर्वाचन आयोगले अपराह्न ४ बजेदेखि दोस्रो चरणको मतदान सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य पदको निर्वाचन प्रक्रिया सम्पन्न भइसकेकाले अब पदाधिकारी चयनका लागि निर्वाचन गरिने जानकारी दिएका छन्। दोस्रो चरणमा पार्टीका महत्वपूर्ण नेतृत्व पदहरूका लागि प्रतिस्पर्धा हुने भएकाले प्रतिनिधिहरूको चासो थप बढेको छ।
कुन–कुन पदमा हुँदैछ निर्वाचन ?
रास्वपाको विधानअनुसार दोस्रो चरणमा निम्न पदहरूका लागि निर्वाचन हुनेछः
- दुई उपसभापति
- एक महामन्त्री
- तीन सहमहामन्त्री
यद्यपि रास्वपाको विधानले सबै पद प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गरेको छैन। १९ सदस्यीय पदाधिकारी संरचनाअन्तर्गत तीन उपसभापतिमध्ये एक जना, दुई महामन्त्रीमध्ये एक जना तथा पाँच सहमहामन्त्रीमध्ये दुई जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। त्यसैले बाँकी पदहरूका लागि मात्र निर्वाचन हुन लागेको हो।
सभापति र वरिष्ठ नेता सर्वसम्मत
महाधिवेशनअघि नै पार्टी नेतृत्वका दुई प्रमुख पदमा सहमति जुटिसकेको छ।
- सभापतिमा रवि लामिछाने सर्वसम्मत चयन भइसकेका छन्।
- वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह सर्वसम्मत चयन भएका छन्।
यससँगै पार्टीको शीर्ष नेतृत्वको संरचना स्पष्ट भइसकेको भए पनि बाँकी पदाधिकारी चयनले आगामी कार्यकालको शक्ति सन्तुलन निर्धारण गर्ने भएकाले निर्वाचनलाई निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ।
पहिलो चरणमा २,९५९ मत खस्यो
पहिलो चरणमा ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार कुल ४,३११ प्रतिनिधि मध्ये २,९५९ जनाले मतदान गरेका छन्।
यस हिसाबले १,३५२ प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहे। मतदान प्रतिशत अपेक्षाभन्दा कम देखिएपछि प्रतिनिधिहरूको सहभागिता, व्यवस्थापन तथा निर्वाचन प्रक्रियामाथि पनि विभिन्न प्रश्न उठेका छन्।
विवाद र असन्तुष्टिबीच दोस्रो चरण
पहिलो चरणको मतदानमा उम्मेदवारहरूको नामावली व्यवस्थापन, भोटिङ मेसिनमा नामको क्रम, क्लस्टर व्यवस्थापन तथा अनिवार्य मतदान प्रणालीलाई लिएर विभिन्न उम्मेदवार र प्रतिनिधिहरूले असन्तुष्टि जनाएका थिए।
केन्द्रीय सदस्यका उम्मेदवारहरू तथा प्रतिनिधिहरूले आफूले नचिनेका उम्मेदवारलाई समेत अनिवार्य रूपमा मत दिनुपर्ने अवस्थाले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको बताएका छन्। यस कारण दोस्रो चरणको निर्वाचनलाई पनि पार्टीभित्र विशेष चासोका साथ हेरिएको छ।
नेतृत्वको परीक्षा
रास्वपाले आफूलाई परम्परागत दलभन्दा फरक र आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक शक्ति भन्दै आएको छ। तर पहिलो महाधिवेशनमै देखिएको व्यवस्थापकीय कमजोरी, उम्मेदवारहरूको असन्तुष्टि र निर्वाचन प्रक्रियामाथिका प्रश्नहरूले पार्टी नेतृत्वको संगठनात्मक क्षमता र लोकतान्त्रिक अभ्यासको वास्तविक परीक्षण गरिरहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
दोस्रो चरणको निर्वाचनबाट उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरूको टुंगो लागेसँगै रास्वपाले आफ्नो नयाँ नेतृत्व टोलीलाई पूर्णता दिनेछ। त्यसपछि पार्टीले आगामी राजनीतिक दिशा, संगठन विस्तार र सरकार सञ्चालनसम्बन्धी रणनीतिमा केन्द्रित हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया दिनुहोस्