काठमाडौं, १५ असार । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा गाडीलाई कारबाहीसहित जरिवाना गरेको छ । हिजो उपत्यकाका विभिन्न ठाउँमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका गाडी चालकलाई जरिवानासहित कारबाही गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले गाडीमा कालो सिसा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेकाले नियम उल्लङ्घन गर्ने गाडीको निगरानी बढाइएको हो ।
पछिल्लो समय निजी तथा सार्वजनिक गाडी, विशेषगरी माइक्रोबस र ट्याक्सीमा कालो सिसाको प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरीले त्यसविरुद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।
प्रहरीका अनुसार कालो सिसाको प्रयोगले गाडीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले साना हतियार, लागुऔषध ओसारपसार, फरार अपराधी तथा विभिन्न आपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाइएको छ ।







प्रतिक्रिया दिनुहोस्