काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउन अदालतले ३ दिनको म्याद थप गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिरासतमा रहेका पौडेललाई आज म्याद थपको प्रक्रियाका लागि विशेष अदालतमा पेस गरेको थियो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप ३ दिनको समय दिने आदेश दिएको हो।
अदालतको आदेशसँगै उनलाई पुनः न्यायिक हिरासतमा पठाइएको छ।
पक्राउ र अनुसन्धानको पृष्ठभूमि उपाध्यक्ष पौडेललाई विभागले गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीमाथि शंकास्पद सेयर कारोबार र आफ्नो नाममा रहेको सम्पत्तिको स्रोत खुलाउन नसकेको आरोपमा छानबिन भइरहेको छ।
विभागले उनीमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। म्याद थपिएसँगै अबको ३ दिनमा विभागले उनीसँग थप बयान लिने तथा शंकास्पद आर्थिक कारोबारको प्राविधिक विश्लेषण गर्ने तयारी गरेको छ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। शंकास्पद सेयर कारोबार र सम्पत्तिको स्रोतका सम्बन्धमा छानबिन गर्न असार ८ गते पक्राउ परेका पौडेललाई विभागले आज अदालतमा पेस गरेको थियो।







प्रतिक्रिया दिनुहोस्