काठमाडौं, — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार संग्रहालय सफा गर्न लगाइएको सूचना आफूले पाएको दाबी गरेका छन्। उनले त्यतिबेला देश असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको र अर्को दुर्घटना हुनसक्ने चिन्ताले आफूहरू सतर्क रहेको बताएका छन्।
पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भदौ २६ गते राति शीतल निवास मा बसेर देशको अवस्थाबारे गम्भीर छलफल भएको स्मरण गरे। उनले त्यसबेला जनतामाझ देश नयाँ राजनीतिक मोडतर्फ जान लागेको चर्चा चलिरहेको उल्लेख गर्दै नारायणहिटी दरबार सफा भइरहेको जानकारी पछि पुष्टि भएको दाबी गरे।
प्रचण्डका अनुसार, नारायणहिटी सफा गरिनु आफैंमा त्यस समयको राजनीतिक अवस्थाको संकेत थियो। उनले जनता, राजनीतिक नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध कमजोर बन्दै गएको तथा देश अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिरहेको बताए। आफूहरूलाई व्यक्तिगत भविष्यभन्दा पनि देशलाई सम्भावित दुर्घटनाबाट जोगाउने विषयले बढी चिन्तित बनाएको उनको भनाइ थियो।
यसै क्रममा उनले तत्कालीन राजनीतिक घटनाक्रमबारे पनि धारणा राख्दै आफूहरू संसद् विघटनको पक्षमा नरहेको स्पष्ट पारे। उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले नै अन्तरिम सरकार गठनका लागि सिफारिस गरेको पत्र देखेपछि परिस्थितिको वैधानिक आधार बनेको ठहर गर्दै देशलाई थप राजनीतिक संकटमा जानबाट रोक्न निर्वाचनको विकल्प स्वीकार गरिएको थियो।
प्रचण्डले आफूहरूले कहिल्यै संसद् विघटनको समर्थन नगरेको दोहोर्याउँदै नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै हुनुपर्ने अडान अन्तिम समयसम्म कायम राखिएको बताए। उनले देशलाई अस्थिरता र सम्भावित दुर्घटनाबाट जोगाउने उद्देश्यले मात्र त्यसबेलाको राजनीतिक निर्णयमा सहभागी भएको दाबी गरे।







प्रतिक्रिया दिनुहोस्