काठमाडौं, १७ असार । चिनियाँ नागरिक शंकास्पद गतिविधिमा स् धोवीघाट र चोभारबाट नौजना पक्राउ, १८ थान पासपोर्ट जफत
काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नौजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरूबाट १८ थान पासपोर्ट ९राहदानी० जफत गरिएको छ ।
ललितपुरको धोवीघाटबाट तीन र कीर्तिपुरको चोभारबाट ६ गरी नौजना चिनियाँ नागरिकलाई पक्राउ गरिएको विभागद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
ललितपुरको धोवीघाटस्थित एक घरमा ठूलो संख्यामा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा विभागले अनुगमन तथा खानतलासी गरेको थियो ।
विभागबाट खटिएको टोलीले उक्त स्थानबाट तीनजना चिनियाँ नागरिक र चोभारस्थित ट्रेजर्स प्रा।लि।मा शंकास्पद गतिविधिमा संलग्न अन्य ६ गरी नौजना चिनियाँलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानका लागि १८ थान चिनियाँ पासपोर्ट पनि नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।
“प्रारम्भिक अनुसन्धानको क्रममा धोबिघाटको चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएको खुलेको छ । विभागको टोली पुग्दा ११ पुरुष र ११ महिला गरी २२ जना चिनियाँ नागरिक फेला परेका थिए । तीमध्ये चारजना व्यावसायिक र १८ जना पर्यटक भिसामा नेपालमा रहेको पाइएको छ,” विभागले विज्ञप्तिमा भनेको छ ।
सबै चिनियाँसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्र पासपोर्ट प्रस्तुत गरेका थिए । बाँकी चारजनाले पासपोर्ट भिसा प्रयोजनका लागि कानुन व्यवसायीसँग रहेको बताएका थिए । त्यसपछि अनुसन्धानका लागि १८ थान पासपोर्ट नियन्त्रणमा लिइएको थियो । उनीहरू बसेको घर ड्रागन ब्रिज इन्टरनेशनल प्रा।लि।ले लिजमा लिएको खुलेको छ ।
अनुगमनका क्रममा उक्त घरलाई होस्टल भनिए पनि होस्टल सञ्चालनसम्बन्धी कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला नपरेको विभागले बताएको छ ।
“महिला र पुरुषलाई एउटै आवासमा राखिएको पाइएको छ । आफूलाई होस्टल सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग त्यहाँ बसोबास गर्ने विदेशी नागरिकको अभिलेख वा वास्तविक विवरणसमेत उपलब्ध नभएको पाइएको छ,” विभागले भनेको छ ।
प्रारम्भिक अनुसन्धानबाट अधिकांश चिनियाँ नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्दै चोभारस्थित ट्रेजर्स प्रा।लि। तथा ड्रागन ब्रिज इन्टरनेशनल प्रा।लि।सँग आबद्ध भई कार्यरत रहेको खुलेको छ ।
यसबाट उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको देखिएको छ । उक्त घर सुमन कार्कीको स्वामित्वमा रहेको र ड्रागन ब्रिज इन्टरनेशनल प्रा।लि।ले लिजमा सञ्चालन गरिरहेको खुलेको छ ।
चोभारस्थित ट्रेजर्स प्रा।लि।मा पनि शंकास्पद गतिविधि
यसै गरी अध्यागमन विभागले कीर्तिपुर नगरपालिका–६, चोभारस्थित ट्रेजर्स प्रा।लि।मा पनि अनुगमन गरेको थियो ।
भारतीय आयुर्वेदिक उत्पादनको प्रदर्शनी केन्द्रका रूपमा सञ्चालन गरिएको उक्त भवनमा अत्यधिक सुरक्षा व्यवस्था, ठूलो संख्यामा सीसीटीभी, निजी सुरक्षा गार्ड परिचालन तथा सर्वसाधारणलाई पूर्ण रूपमा प्रवेश निषेध गरिएको अवस्था फेला परेको छ ।
अनुगमनका क्रममा करिब १८ जना चिनियाँ नागरिक त्यहाँ कार्यरत रहेको र तीमध्ये अधिकांश पर्यटक भिसामा रहेको पाइएको छ ।
“कर्मचारीहरूको अभिलेख उपलब्ध नगराइएको, राहदानी तथा परिचयपत्र देखाउन अस्वीकार गरिएको, कम्पनीको वास्तविक सञ्चालकबारे कर्मचारीहरू अनभिज्ञ रहेको तथा भवनभित्र फोटो तथा भिडियो खिच्न निषेध गरिएको अवस्था फेला परेको छ,” विभागले विज्ञप्तिमा भनेको छ ।
निजी संस्थाले प्रयोग गर्ने पास कार्डमा नेपालको राष्ट्रिय निशान छाप प्रयोग गरिएको पनि भेटिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा सीसीटीभी डाटा रुमसँग जोडिएको झ्यालविहीन अन्धकार कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा सातजना चिनियाँ नागरिक लुकेर बसेको भेटिएको थियो । तीमध्ये पाँचजनालाई नियन्त्रणमा लिइएको छ भने दुईजना फरार भएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा केही चिनियाँ नागरिक क्रिप्टो कारोबारमा संलग्न रहेको आशंका समेत गरिएको छ ।
“नेपालीको नाममा दर्ता भएका कम्पनीको आवरणमा उनीहरू शंकास्पद गतिविधिमा संलग्न थिए । ती कम्पनीका नेपाली सञ्चालकले आफूहरूलाई मासिक पैसा दिनेगरी चिनियाँहरूले नै ती कम्पनी प्रयोग गर्दै आएको र उनीहरूको कामबारे जानकारी नभएको बताएका छन्,” विभागले भनेको छ ।
धोवीघाट र चोभारबीच प्रत्यक्ष सम्बन्ध
प्रारम्भिक अनुसन्धानबाट धोवीघाटस्थित आवास र चोभारस्थित ट्रेजर्स प्रा।लि।बीच प्रत्यक्ष सम्बन्ध रहेको खुलेको छ ।
होस्टल सञ्चालक कर्मा शेर्पा र मञ्जु लामाले त्यहाँ बस्ने अधिकांश चिनियाँ नागरिक ट्रेजर्स प्रा।लि।मै कार्यरत रहेको स्वीकार गरेका छन् ।
यसले धोवीघाटस्थित घर चिनियाँ नागरिकहरूको आवासीय केन्द्र र चोभारस्थित कम्पनी उनीहरूको कार्यस्थलका रूपमा प्रयोग भइरहेको देखाएको छ ।
यसअघि पनि उक्त घरबाट विदेशी नागरिकमार्फत धार्मिक गतिविधि सञ्चालन भएको भेटिएको थियो । २०८२ भदौ ५ गते सोही स्थानबाट चारजना इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिई ३ वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको थियो ।
दुवै घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ । भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिक तथा सम्बन्धित व्यक्ति र संस्थामाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विभागले बताएको छ ।







प्रतिक्रिया दिनुहोस्