काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रयोग गरिएको विद्युतीय मतदान (ई–भोटिङ) प्रणालीमाथि उठेको विवादले नयाँ मोड लिएको छ। मतदान मेसिन विकासकर्ता रामलक्ष्मण ग्रुपले पहिलो पटक विस्तृत प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशनमा देखिएका विवाद आफ्नो प्रविधिका कारण नभई निर्वाचन आयोगबाट अन्तिम समयमा गरिएको निर्णय र निर्देशनका कारण उत्पन्न भएको दाबी गरेको छ।
समूहले विशेष गरी बहसको विषय बनेको ‘नो भोट’ (Right to Reject) व्यवस्था, उम्मेदवारको नामावली, एउटै समूहमा ६४ उम्मेदवार राखिएको विषय, फोटो नसमेटिनु तथा मत परिणाम सार्वजनिक हुन ढिलाइ भएको विषयमा बुँदागत रूपमा स्पष्टीकरण दिएको छ।
‘ऐच्छिक मतदान’ बाट ‘अनिवार्य मतदान’ कसरी बन्यो?
रामलक्ष्मण ग्रुपका अनुसार रास्वपासँग भएको प्रारम्भिक सम्झौतामा मतदाताले चाहेमा निश्चित पदमा मतदान नगर्न पाउने अर्थात् ऐच्छिक मतदान (No Vote) को व्यवस्था राख्ने सहमति भएको थियो।
समूहका अनुसार उनीहरूले त्यसैअनुसार मतदान प्रणाली पनि तयार गरिसकेका थिए। तर अन्तिम उम्मेदवार सूची प्राप्त भएपछि निर्वाचन आयोगले अचानक ‘अनिवार्य मतदान’ हुने गरी मेसिन परिवर्तन गर्न निर्देशन दिएको दाबी गरिएको छ।
विज्ञप्तिअनुसार अन्तिम नामावली मध्यरातमा आयोगलाई देखाउँदा आयोगका पदाधिकारीले “यो त अनिवार्य गर्नुपर्छ” भनेपछि आफूहरूले सम्झौताविपरीत हुने भन्दै आपत्ति जनाएको उल्लेख छ।
त्यसपछि आयोगसँग लिखित निर्देशन मागिएको र लिखित आदेश प्राप्त भएपछि मात्रै मेसिनमा मतदाताले तोकिएको संख्यामा उम्मेदवारलाई मत हाल्नै पर्ने गरी प्रणाली परिवर्तन गरिएको रामलक्ष्मण ग्रुपको दाबी छ।

‘मध्यरातमै सम्झौता फेरियो’
प्रेस विज्ञप्तिमा भनिएको छ कि सुरुवाती सम्झौता र अन्तिम निर्देशनबीच ठूलो अन्तर आएको थियो।
रामलक्ष्मण ग्रुपका अनुसार यदि प्रारम्भिक सम्झौताअनुसार नै मतदान गराइएको भए अहिले उठेका धेरै विवाद नै उत्पन्न नहुने अवस्था थियो।
समूहले यस सम्बन्धमा निर्वाचन आयोगबाट प्राप्त लिखित निर्देशनसमेत सार्वजनिक गरेको छ।
एउटै समूहमा ६४ उम्मेदवार किन?
महाधिवेशनभरि सबैभन्दा धेरै प्रश्न उठेको अर्को विषय थियो– एउटै समूहमा ६४ जना उम्मेदवार किन राखियो?
रामलक्ष्मण ग्रुपले यसको जिम्मेवारी पनि आफूहरूको नभएको स्पष्ट पारेको छ।
समूहका अनुसार प्रारम्भिक तयारीमा विभिन्न क्लस्टर छुट्टाछुट्टै राखिएको थियो। तर निर्वाचन आयोगले अन्तिम समयमा खुला र समावेशी समूहलाई एउटै क्लस्टरमा राखेर अन्तिम नामावली पठाएको थियो।
त्यसैले मेसिनमा देखिएको ६४ उम्मेदवारको समूह आफूहरूले बनाएको नभई आयोगबाट प्राप्त अन्तिम आधिकारिक सूची जस्ताको तस्तै कार्यान्वयन गरिएको जनाएको छ।
उम्मेदवारको नाम र क्रम संख्या कसले निर्धारण गर्यो?
महाधिवेशनपछि कतिपय उम्मेदवारले आफ्नो नाम र क्रम संख्या फरक परेको गुनासो गरेका थिए।
रामलक्ष्मण ग्रुपले भने मतदान मेसिनमा कुनै पनि नाम, क्रम संख्या वा अन्य विवरण परिवर्तन गर्ने अधिकार आफूहरूसँग नरहेको स्पष्ट पारेको छ।
उनीहरूका अनुसार निर्वाचन आयोगले हस्ताक्षरसहित उपलब्ध गराएको अन्तिम आधिकारिक सूची नै कुनै परिवर्तन नगरी मेसिनमा समावेश गरिएको थियो।
उम्मेदवारको फोटो किन राखिएन?
ई–भोटिङ प्रणालीको अर्को विशेषता उम्मेदवारको फोटोसहित मतदान गर्न मिल्ने व्यवस्था रहेको रामलक्ष्मण ग्रुपले जनाएको छ।
प्रारम्भिक चरणमा फोटोसहितको प्रणाली तयार गरिएको भए पनि अन्तिम समयमा निर्वाचन आयोगले उम्मेदवारको संरचना परिवर्तन गर्दै नयाँ नामावली राति करिब ११:३० बजे मात्रै उपलब्ध गराएको जनाएको छ।
समूहका अनुसार त्यसपछि प्रत्येक उम्मेदवारको फोटो पुनः मिलाएर नयाँ प्रणाली बनाउन कम्तीमा ८–१० घण्टा लाग्ने थियो। तर करिब एक घण्टामै मतदान सुरु गर्नुपर्ने भएकाले फोटो हटाएर मात्रै प्रणाली सञ्चालन गरिएको दाबी गरिएको छ।
मत परिणाम किन ढिलो आयो?
मतगणना ढिलो भएको विषयमा पनि रामलक्ष्मण ग्रुपले आफ्नो पक्ष सार्वजनिक गरेको छ।
समूहका अनुसार मुख्य मतदान सम्पन्न भएपछि विदेशस्थित (प्रवास) निर्वाचन सुरु नै नभएको जानकारी आएपछि सबै मेसिनको मतगणना रोकिएको थियो।
प्रवास मतदान सम्पन्न भएपछि भने ८० वटा मेसिनमा रहेका २ लाख ९२ हजार ९४१ वटा मत करिब १० मिनेटमै गणना गरेर निर्वाचन आयोगलाई बुझाइएको दाबी गरिएको छ।
समूहले औपचारिक नतिजा सार्वजनिक गर्न लागेको समय भने निर्वाचन आयोगको आन्तरिक प्रक्रिया भएको स्पष्ट पारेको छ।
१३ वर्षको अनुसन्धानबाट बनेको प्रविधि
रामलक्ष्मण ग्रुपले आफ्नो विद्युतीय मतदान प्रणाली नेपालमै विकास गरिएको उल्लेख गर्दै विगत १३ वर्षदेखि निरन्तर अनुसन्धानपछि यो प्रणाली तयार भएको जनाएको छ।
उनीहरूका अनुसार हालसम्म करिब ३०० भन्दा बढी निर्वाचन यही प्रणालीमार्फत सम्पन्न भइसकेका छन्, जसमा नेपाल जेसीज, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एमाले), नेपाल इन्जिनियर्स एसोसिएसन, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुनलगायत विभिन्न संस्थाका निर्वाचनसमेत रहेका छन्।
रास्वपाको छविमा असर परेको टिप्पणी
विज्ञप्तिको अन्त्यमा रामलक्ष्मण ग्रुपले समग्र व्यवस्थापनमा कमजोरी हुँदा नयाँ पुस्ताको आशा बोकेको रास्वपाको छवि र प्रतिष्ठामा समेत असर परेको उल्लेख गरेको छ।
समूहले भविष्यमा अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी निर्वाचन व्यवस्थापनको अभ्यास विकास हुनुपर्ने अपेक्षा व्यक्त गर्दै आफ्नो प्रविधिसम्बन्धी कुनै पनि प्रश्नको जवाफ दिन आफूहरू सधैं तयार रहेको जनाएको छ।
विवाद अझै टुंगिएको छैन
रास्वपा महाधिवेशनपछि मतदान प्रक्रियाको निष्पक्षता, ‘नो भोट’ व्यवस्था हटाइएको निर्णय, उम्मेदवारको सूची व्यवस्थापन तथा निर्वाचन आयोगको भूमिकामाथि निरन्तर प्रश्न उठिरहेका बेला रामलक्ष्मण ग्रुपको यो स्पष्टीकरणले विवादमा नयाँ आयाम थपेको छ।
अब निर्वाचन आयोग र रास्वपाको केन्द्रीय निर्वाचन समितिले यसबारे थप आधिकारिक धारणा सार्वजनिक गर्छन् वा गर्दैनन् भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ
यस्तो छ विज्ञप्ति–
मिति २०८३।३।१८
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा प्रयोग भएको विद्युतीय मतदान उपकरण सम्बन्धमा प्रेस विज्ञप्ति–
रामलक्ष्मण रिमाल
प्रविधि विकासकर्ता
गत आषाढ ७ गतेदेखि चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको निर्वाचनमा प्रयोग गरिएको इलेक्ट्रोनिक मतदान मेशिनसँग सम्बन्धित विषयमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित समाचारप्रति हामी, यस प्रविधिका अनुसन्धानकर्ता तथा विकासकर्ताहरूको गम्भीर ध्यानाकर्षण भएको छ।
नेपालमै विकास गरिएको यस नवप्रवर्तनबारे पर्याप्त तथ्य र प्राविधिक यथार्थभन्दा फरक ढंगले प्रस्तुत गरिएका केही समाचारका कारण आम नागरिकमा भ्रम उत्पन्न भएको देखिएकाले, उक्त महाधिवेशनमा प्रयोग गरिएको मतदान मेशिन तथा त्यसको प्रयोग प्रक्रियासम्बन्धी केही तथ्यहरू स्पष्ट पार्नु आवश्यक ठानेका छौं।
हामी यस वक्तव्यमार्फत कुनै राजनीतिक दल, महाधिवेशन व्यवस्थापन पक्ष वा निर्वाचन आयोगप्रति गुनासो वा आरोप प्रस्तुत गर्न चाहेका होइनौं। हाम्रो उद्देश्य केवल नेपालमै विकसित यस प्रविधिबारे तथ्यपरक जानकारी सार्वजनिक गर्नु, प्राविधिक पक्ष स्पष्ट पार्नु तथा आम नागरिकमा देखिएका जिज्ञासा र भ्रमको निराकरण गर्नु मात्र हो।
पृष्ठभूमि तथा हाम्रो अनुभव
नेपालमा वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनका क्रममा भारतबाट ल्याइएको विद्युतीय मतदान उपकरण (Electronic Voting Machine) प्रयोग गरिएको थियो। तर त्यसपछिका निर्वाचनहरूमा राजनीतिक दलहरूको संख्या बढ्दै जाँदा उक्त उपकरणमा आवश्यक संख्याका उम्मेदवार समेट्न नसक्ने प्राविधिक सीमाका कारण यसको प्रयोग निरन्तर हुन सकेन। यही आवश्यकता र चुनौतीलाई मध्यनजर गर्दै हामीले नेपालमै उपयुक्त, सुरक्षित तथा बहुउद्देश्यीय विद्युतीय मतदान प्रणाली विकास गर्ने अभियान प्रारम्भ गरेका हौं।
विगत १३ वर्षको निरन्तर अनुसन्धान, परीक्षण र परिमार्जनपछि विकसित हाम्रो विद्युतीय मतदान प्रणालीमार्फत हालसम्म करिब ३०० वटा विभिन्न प्रकृतिका निर्वाचनहरू सफलतापूर्वक सम्पन्न भएका छन्। यी निर्वाचनहरूमा जटिल बहुपद, बहुचरणीय तथा उच्च प्रतिस्पर्धात्मक निर्वाचनसमेत समावेश छन्। हालसम्म सम्पन्न सबै निर्वाचनमा मतदान गणनाको १०० प्रतिशत शुद्धता र विश्वसनीयता कायम भएको छ।
हाम्रो उद्देश्य केवल राजनीतिक दल वा संस्थागत निर्वाचनलाई सहज बनाउनु मात्र होइन, भविष्यमा राष्ट्रिय तथा स्थानीय तहका निर्वाचनसमेत छलछामरहित, पारदर्शी, सुरक्षित, विश्वसनीय र द्रुत रूपमा सञ्चालन गर्न सक्ने नेपाली प्रविधिमा आधारित विद्युतीय मतदान प्रणाली विकास गर्नु हो।
यस प्रणालीबाट सफलतापूर्वक सम्पन्न भएका केही प्रमुख निर्वाचनहरू:
• नेपाल जेसिज महाधिवेशन — १० पटक
• राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशन — ३ पटक
• नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन — २ पटक
• नेपाल नेत्रहीन संघ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल इन्जिनियर्स एसोसिएसन, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून लगायतका सयौं संघ–संस्थाका निर्वाचनहरू कुनै पनि सामान्य प्राविधिक समस्या वा विवादबिना सफलतापूर्वक सम्पन्न भएका छन्।
रास्वपा निर्वाचनको क्रममा आम सर्वसाधारणमा उत्पन्न भएका केही प्रस्न तथा तीनका यथार्थ
एउटै पदमा ६४ जना किनभयो ?
कुनै पनि निर्वाचनमा विद्युतीय मतदान उपकरणको भूमिका निर्वाचन प्रक्रियाको अन्तिम चरण अर्थात् मतदान गराउने कार्यमा मात्र रहन्छ । उम्मेदवारको मनोनयन, दाबी–विरोध, उम्मेदवारी फिर्ता, पद तथा समूह (क्लस्टर) निर्धारण, उम्मेदवारको क्रम संख्या तथा अन्तिम नामावली तयार गर्ने सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगको हुन्छ। मतदान उपकरणमा भने निर्वाचन आयोगबाट हस्ताक्षरसहित प्राप्त अन्तिम आधिकारिक नामावली र सोही क्रममा रहेका उम्मेदवारहरूको विवरण कुनै परिवर्तन नगरी जस्ताको त्यस्तै समावेश गरिन्छ।
यस महाधिवेशनमा पनि हामीले प्रारम्भिक रूपमा छुट्टाछुट्टै क्लस्टरका आधारमा मतदान प्रणाली तयार गरेका थियौं। तर अन्तिम समयमा निर्वाचन आयोगबाट खुला र समावेसी उम्मेदवारलाई एउटै समूहमा समावेश गरिएको संशोधित अन्तिम नामावली तथा सोहीअनुसार मतदान गराउनुपर्ने निर्देशन प्राप्त भयो। हाम्रो अनुभवका आधारमा यस व्यवस्थाले मतदान तथा मतगणना प्रक्रियालाई थप जटिल बनाउन सक्ने प्राविधिक सुझाव दिएका थियौं, तर निर्वाचन आयोगले पार्टीको विधानअनुसार यही व्यवस्था कायम रहने जानकारी गरायो।
त्यसैले मतदान उपकरणमा देखिएको एउटै समूहमा ६४ जना उम्मेदवारको व्यवस्था हाम्रो तर्फबाट गरिएको निर्णय नभई निर्वाचन आयोगबाट प्राप्त अन्तिम आधिकारिक नामावली र निर्देशनअनुसार जस्ताको त्यस्तै कार्यान्वयन गरिएको व्यवस्था हो। विद्युतीय मतदान उपकरणले निर्वाचन आयोगबाट प्राप्त विवरणलाई मात्र कार्यान्वयन गर्ने भएकाले पद, समूह, उम्मेदवारको संख्या वा क्रमसंख्यामा परिवर्तन गर्ने कुनै अधिकार वा भूमिका हाम्रो हुँदैन।
उम्मेदवारको नाम र क्रम संख्या कसरी बिग्रयो ?
कतिपयले मतदान मेशिनमा उम्मेदवारको नाम र क्रम संख्या फरक राखिएको भन्ने बुझाइ व्यक्त गर्नुभएको छ। यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छौं कि मतदान मेशिनमा उम्मेदवारको विवरण निर्वाचन आयोगबाट आधिकारिक रूपमा हस्ताक्षर गरी उपलब्ध गराइएको अन्तिम नामावलीका आधारमा कुनै पनि परिवर्तन नगरी जस्ताको तस्तै समावेश गरिएको हो।
निर्वाचन प्रक्रियामा निर्वाचन आयोगले स्वीकृत गरी जारी गरेको अन्तिम नामावली नै आधिकारिक अभिलेख हुने भएकाले उम्मेदवारहरूले पनि सोही आधारमा आफ्नो प्रचारप्रसार गर्ने प्रचलन रहेको हुन्छ। त्यसैले मेशिनमा कुनै नाम, क्रम संख्या वा अन्य विवरण थप्ने, हटाउने वा परिवर्तन गर्ने अधिकार वा भूमिका हाम्रो हुँदैन।
यस महाधिवेशनमा पनि निर्वाचन आयोगबाट हस्ताक्षरसहित प्राप्त अन्तिम सूचीलाई अक्षरशः मेशिनमा समावेश गरिएको हो। त्यसैले उम्मेदवारको नाम वा क्रम संख्यासम्बन्धी कुनै पनि परिवर्तन वा त्रुटि मतदान मेशिन वा हाम्रो प्रविधिका कारण भएको होइन।
अनिवार्य मतदान किन गरियो ?
निर्वाचन पूर्व रास्वपा पार्टी कार्यालयमा जाँदा नै हामीले ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ जस्ता ब्यानर पार्किङमै टाँसिएको देखेका थियौं। सोही अनुसार हामीले सम्झौता गर्दा नै ऐच्छिक मतदानका लागि मेशिन तयार गर्ने भनी बुँदामा उल्लेख गरिएको थियो।
जब निर्वाचन आयोगले हामीलाई मध्यरातमा अन्तिम नामावली दिनुभयो र एउटा मेशिनमा उक्त नामावली लोड गरी निर्वाचन आयोगलाई देखायौं, उहाँहरूले त्यतिखेरै ‘यो त अनिवार्य गर्नुपर्छ’ भनेर हामीलाई भन्नुभयो। हामीले सम्झौताअनुसार नभए समस्या ल्याउँछ भन्यौं। उहाँहरूले जसरी हुन्छ अनिवार्य गर्नुस भनेपछि हामीले सम्झौताको बुँदा उल्लेख गर्दै लिखित निर्देशन माग्यौं।
सोही अनुसार उहाँहरूले लिखित निर्देशन दिएपछि मात्र हामीले मेशिनमा भोट हाल्दा इच्छाधिनको सट्टामा अनिवार्य एक समुहका उमेद्ववारहरूलाइ तोकिएको संख्यामा मत खसाल्नै पर्ने बनाएका हौ ।
उम्मेदवारको फोटो किन आएन ?
विद्युतीय मतदान उपकरणको प्रमुख विशेषतामध्ये एक भनेको उम्मेदवारको नामसँगै तस्बिरसमेत विद्युतीय मतपत्रमा समावेश गरी मतदाताले तस्बिर हेर्दै सहज रूपमा मतदान गर्न सक्नु हो। यही सुविधालाई ध्यानमा राख्दै सम्झौतामा पनि उम्मेदवारहरूको फोटोसहितको विद्युतीय मतपत्र तयार गर्ने व्यवस्था उल्लेख गरिएको थियो।
सोहीअनुसार हामीले प्रारम्भिक रूपमा भूगोललगायत विभिन्न क्लस्टरका उम्मेदवारहरूको फोटोसहितको मतदान प्रणाली तयार गरिसकेका थियौं। तर निर्वाचन प्रक्रियाको अन्तिम चरणमा निर्वाचन आयोगले महिला र खुला समूहलाई छुट्टाछुट्टै राख्ने पूर्वतयारी परिवर्तन गरी एउटै समूहमा समावेश गर्ने निर्णय गर्यो। त्यसअनुसार नयाँ संरचनासहितको अन्तिम आधिकारिक नामावली हामीलाई राति करिब ११:३० बजे मात्र उपलब्ध गराइयो।
अन्तिम नामावली प्राप्त भएपछि प्रत्येक उम्मेदवारको फोटो पुनः मिलान गरी नयाँ विद्युतीय मतपत्र तयार गर्न सामान्य अवस्थामा कम्तीमा ८ देखि १० घण्टा समय आवश्यक पर्ने विषय हामीले पूर्वमै जानकारी गराएका थियौं। तर अन्तिम नामावली प्राप्त भएको करिब एक घण्टाभित्रै मतदान सुरु गर्नुपर्ने निर्वाचन आयोगको निर्देशन तथा समयगत बाध्यताका कारण फोटोसहितको विद्युतीय मतपत्र तयार गर्न प्राविधिक रूपमा सम्भव भएन।
त्यसैले निर्वाचन आयोग तथा व्यवस्थापन पक्षको निर्देशनअनुसार अन्तिम आधिकारिक नामावलीका आधारमा तस्बिरबिनै मतदान प्रणाली तयार गरी निर्धारित समयमा निर्वाचन सञ्चालन गरिएको हो। उम्मेदवारको तस्बिर समावेश हुन नसक्दा मतदाताहरूले प्रश्न उठाउनु स्वाभाविक हो, र हामी त्यसप्रति सम्मान व्यक्त गर्दछौं। यद्यपि, यो अवस्था मतदान उपकरणको प्राविधिक सीमाका कारण नभई अन्तिम नामावली अत्यन्त ढिलो प्राप्त हुनु र त्यसलगत्तै निर्वाचन सुरु गर्नुपर्ने समयगत बाध्यताका कारण सिर्जना भएको हो।
नतिजा किन ढिला आयो?
आषाढ १० गते दिउँसो १२ बजे सकिएको निर्वाचनको मतगणनाका लागि सबै डाटा संकलन गर्दै गर्दा प्रवासको निर्वाचन त शुरु नै भएको छैन भन्ने खबर आयो। प्रवासमा निर्वाचन नै नभई मेशिनको मत गणना गर्दा नतिजा प्रभावित हुने भएकाले प्रवासको मतदान भई नतिजा नआएसम्म गणना नगर्ने भनियो।
बेलुकी ६ बजेतिर प्रवासको मतदान सकियो भनेपछि हामीले जम्मा १० मिनेटमा ८० वटा मेशिनको २,९२,९४१ वटा स्वस्तिक छाप गणना गरी निर्वाचन आयोगलाई प्रदान गर्यौं। मतपरिणामलाई औपचारिक नतिजामा ल्याउन निर्वाचन आयोगलाई जति समय लाग्यो, त्यो हाम्रो प्रणालीको होइन आयोगको आन्तरिक प्रक्रियाको कारण हो।
र अन्त्यमा,
पार्टीले आयोजना गरेको ऐतिहासिक महाधिवेशन अझ व्यवस्थित, छिटोछरितो र प्रभावकारी रूपमा सम्पन्न हुन सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि समग्र व्यवस्थापनमा देखिएका व्यवस्थापकिय कमिकमजोरीका कारण अपेक्षित परिणाम हासिल हुन सकेन। निर्वाचन प्रक्रिया सञ्चालन गर्ने निर्णय भएपछि, हाम्रो विगतको अनुभवका आधारमा महाधिवेशनलाई सहज, व्यवस्थित र समयमै सम्पन्न गर्न सहयोग पुग्ने उद्देश्यले २० पृष्ठको विस्तृत कार्यान्वयन पुस्तिका महाधिवेशन अगावै तयार गरी निर्वाचन आयोगलाई उपलब्ध गराएका थियौं। दुर्भाग्यवश, त्यसमा समेटिएका सुझावहरूको प्रभावकारी कार्यान्वयन हुन सकेन।
यस अवस्थाले नयाँ पुस्ताको आशा र विश्वास बोकेको, देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा उदाउँदै गरेको रास्वपाको छवि र प्रतिष्ठामा समेत असर पारेको महसुस गरेका छौं। आगामी दिनमा यस्ता कमजोरीहरूबाट पाठ सिक्दै अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी निर्वाचन व्यवस्थापनको अभ्यास विकास होस् भन्ने हाम्रो अपेक्षा र शुभकामना छ।
साथै, यस महाधिवेशनको निर्वाचनमा प्रयोग गरिएको मतदान प्रणाली, मेशिन तथा हाम्रो तर्फबाट प्रदान गरिएको प्राविधिक सेवाका सम्बन्धमा हामीले शतप्रतिशत पारदर्शिता, निष्पक्षता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राखेका छौं। यस प्रविधि वा सेवासम्बन्धी कुनै जिज्ञासा, प्रश्न वा गुनासो भएमा प्रविधि विकासकर्ताका रूपमा हामी जहाँसुकै, जुनसुकै मञ्चमा पनि आवश्यक स्पष्टीकरण र उत्तर दिन सदैव तयार छौं।
राम प्रसाद रिमाल ९८५१४-९८५१४
लक्ष्मण प्रसाद रिमाल ९८५१०-२२७११
[email protected]







प्रतिक्रिया दिनुहोस्