नक्कली शरणार्थी प्रकरणमा अदालतको फैसला : ७ जनाले पाए सफाइ, पूर्वमन्त्रीसहित अधिकांश दोषी ठहर
एबीसी न्यूज
२३ असार २०८३, मंगलबार
९ :
०९
बजे
काठमाडौं, २३ असार । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदै ७ जनालाई सबै आरोपबाट सफाइ दिएको छ भने पूर्वमन्त्रीसहित अधिकांश प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै ७ जनालाई सफाइ दिएको हो। अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालगायतलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।
अदालतले टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापालाई भने सबै आरोपबाट सफाइ दिएको छ।
दोषी ठहर भएका व्यक्तिहरूलाई कसुरअनुसार ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा मतियारसम्बन्धी आरोपमा दोषी ठहर गरिएको अदालतले जनाएको छ। उनीहरूको सजाय निर्धारण (सुनुवाइ) भने अदालतले आगामी चरणमा गर्नेछ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई सर्वसाधारणबाट करोडौं रुपैयाँ असुलेको आरोपमा यो मुद्दा दर्ता भएको थियो। यस प्रकरणमा पूर्वमन्त्री, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका पूर्वअधिकारी तथा बिचौलियासमेत प्रतिवादी बनाइएका थिए।
प्रतिक्रिया दिनुहोस्