काठमाडौं २५ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नागार्जुनस्थित नाम्ग्याल विद्यालयमा दलाई लामाको जन्मदिनसम्बन्धी कार्यक्रम गर्न अनुमति दिइएको विषयप्रति कडा आपत्ति जनाउँदै यसलाई नेपालको स्थापित ‘एक चीन नीति’ विपरीत कदम भएको बताएका छन्।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले चीनबाट सन् १९५९ मा निर्वासनमा गएका दलाई लामासम्बन्धी गतिविधि नेपालमा हुन दिनु नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताको मैत्रीपूर्ण सम्बन्धमा नकारात्मक असर पार्ने कार्य भएको दाबी गरेका छन्।
उनले स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गर्न अनुमति दिइनु राष्ट्रहितविपरीत भएको आरोप लगाउँदै यसले नेपाल र चीनबीचको दीर्घकालीन विश्वास र सहकार्यमा असर पर्न सक्ने बताएका छन्।
खनालले कार्यक्रममा अमेरिका, फ्रान्स, युरोपेली संघ र अस्ट्रेलियाका कूटनीतिक प्रतिनिधिहरूको सहभागितालाई समेत गम्भीर र आपत्तिजनक भन्दै नेपाललाई चीनविरोधी गतिविधिको केन्द्र बनाउने प्रयास हुन सक्ने आशंका व्यक्त गरेका छन्।
विज्ञप्तिमा उनले नेपालको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नहुने उल्लेख गर्दै नेपालले सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। साथै नेपालले चीन र भारत दुवै छिमेकी मुलुकसँग सुमधुर, सन्तुलित र रचनात्मक सम्बन्धलाई प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
नेता खनालले देशको परराष्ट्र नीति र राष्ट्रिय हितका विषयमा सरकार संवेदनशील बन्नुपर्ने उल्लेख गर्दै नेपालको भूमि कुनै पनि शक्ति राष्ट्रहरूको प्रतिस्पर्धाको अखडा बन्न नहुने बताएका छन्। उनले चीनसँगको सहयोग र सम्बन्धलाई अझ सुदृढ बनाउनु नै नेपालको दीर्घकालीन राष्ट्रिय हितमा हुने दाबी समेत गरेका छन्।





प्रतिक्रिया दिनुहोस्