काठमाडौँ, : राहदानी विभाग, त्रिपुरेश्वरको गेट अगाडि आज दिउँसो एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँमा रहेका २५ वर्षीय गणेश नेपालीले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।
घटनास्थलमा खटिएका प्रहरीका अनुसार, पीडित व्यक्तिले राहदानी विभागको तीन नम्बर गेट अगाडि पार्किङ गरी राखेको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ‘ह्वीललक’ गरिदिएको थियो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन कुमार भट्टराईले घटनाको पुष्टि गर्दै भने, “उहाँले पार्किङ गरी राखेको मोटरसाइकलमा नगर प्रहरीले ह्वीललक गरेको पाइएको छ। ह्वीललक भएकै कारण उहाँले आत्मदाहको बाटो रोज्नुभएको हो वा अन्य कुनै कारण छ, हामी थप अनुसन्धान गरिरहेका छौँ।”
अवस्था गम्भीर
आत्मदाहको प्रयासबाट गम्भीर घाइते भएका नेपालीको शरीरको करिब ६५ प्रतिशत भाग जलेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याइएको छ। प्रहरी स्रोतका अनुसार उनी बोल्न सक्ने अवस्थामा रहे पनि उनको स्वास्थ्य स्थिति निकै गम्भीर छ।
प्रहरीले घटनाको विस्तृत विवरण र उनले यस्तो चरम कदम चाल्नुको खास कारणबारे गहन अनुसन्धान थालेको जनाएको छ।






प्रतिक्रिया दिनुहोस्