काठमाडौं, २५ असार । नेकपा (एमाले) पुनर्गठनको कार्ययोजना तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ। बिहीबार बसेको कार्यदलको बैठकले कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक बादल र सदस्य(सचिव पोखरेललाई प्रदान गर्ने निर्णय गरेको हो। बैठकमा कार्यदलले प्राप्त गरेको सुझावबारे छलफल भएको छ। कार्यदलले देशका १३ स्थानमा पुगेर सुझाव संकलन गरेको थियो। सुझाव संकलन कार्यक्रमको व्यवस्थापन गर्ने कमिटीहरू र कार्यक्रममा सहभागी सबैलाई कार्यदलले बैठकले धन्यवाद पनि दिएको छ। यस्तै, कार्यदलको बैठकले उपाध्यक्ष विष्णु पौडेलको रिहाइको माग गरेको छ। सुझाव संकलनकै सिलसिलामा कार्यदलका सदस्य पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो। यसलाई कार्यदलको बैठकले राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गरिएको गिरफ्तारीप्रति घोर निन्दा र भर्त्सना गरेको छ।







प्रतिक्रिया दिनुहोस्