काठमाडौं, २६ असार । मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना सेलाउन नपाउँदै सर्लाहीमा यस्तै प्रकृतिको घटना बाहिरिएको छ । सर्लाही(४ का प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० निवासी ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सांसद सिंहले आत्मदाह गरेको सूचना पाएलगत्तै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको जनाएका छन् । गम्भीर अवस्थामा रहेका मण्डलको थप उपचार र उद्धारका लागि प्रधानमन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र पार्टी सभापति रवि लामिछानेलाई सम्पर्क गरी वस्तुस्थितिबारे अवगत गराएको सिंहले जनाएका छन् ।
उनले घाइते मण्डलको अवस्था नाजुक रहेकाले तत्कालै सरकारीस्तरबाट उद्धार र निःशुल्क उपचारको व्यवस्था मिलाइदिन समेत विशेष अनुरोध गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्