५५ प्रतिशतभन्दा बढी शरीर जलेको थियो, धुवाँ र तातो हावाले फोक्सोसमेत क्षतिग्रस्त; घटनाबारे अनुसन्धान गर्न तीन नगर प्रहरी पक्राउ
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न तथा भेन्टिलेटर कक्षमा उपचार भइरहेको थियो। चिकित्सकले शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा उनलाई मृत घोषणा गरेका हुन्।
गणेशको उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालका अनुसार अस्पताल ल्याइँदा नै उनको अवस्था अत्यन्त गम्भीर थियो। शरीरको ५५ प्रतिशतभन्दा बढी भाग आगोले जलेको थियो भने आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले उनको श्वासप्रश्वास प्रणालीमा पनि गम्भीर क्षति पुगेको थियो।
डा. दाहालका अनुसार अस्पतालमा भर्ना भएदेखि नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गर्नुपरेको उनले बताए।
“पहिलो पटकको सीपीआरपछि केही समयका लागि जीवनचिह्न फर्काउन सफल भएका थियौँ। तर दोस्रो पटकको सीपीआरपछि पनि अवस्था सुधार हुन सकेन र बिहान ११ बजेर १९ मिनेटमा मृत घोषणा गर्नुपर्यो,” डा. दाहालले बताए।
राहदानी विभागअगाडि आत्मदाह प्रयास
प्रहरीका अनुसार बिहीबार दिउँसो गणेश नेपालीले राहदानी विभागअगाडिको सडकमा आफ्नो मोटरसाइकल रोकेर शरीरमा पेट्रोल छर्किएका थिए। त्यसपछि उनले आफैँलाई आगो लगाए। घटनास्थलमा रहेका सर्वसाधारण र सुरक्षाकर्मीले तत्काल उद्धार गरी उनलाई वीर अस्पताल पुर्याएका थिए।
अस्पतालमा भर्ना भएपछि उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका थिए। शरीरको आधाभन्दा बढी भाग जलेका कारण संक्रमण, श्वासप्रश्वासमा समस्या तथा बहुअङ्गमा असर पर्ने जोखिम अत्यधिक रहेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ थियो।
ह्विल लकपछि विवाद भएको आफन्तको दाबी
गणेश नेपाली राइड सेयरिङ सेवा सञ्चालन गर्दै आएका थिए। उनका आफन्तका अनुसार घटनाअघि राहदानी विभागअगाडि पार्क गरिएको उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएको थियो। त्यसपछि नगर प्रहरीसँग विवाद भएको र मानसिक तनावकै बीच उनले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको दाबी आफन्तले गरेका छन्।
यद्यपि घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा
गणेश नेपालीको मृत्यु भएपछि घटनाको अनुसन्धान तीव्र बनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले घटनासँग सम्बन्धित तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखी सोधपुछ भइरहेको छ।
प्रहरीका अनुसार घटनाको क्रममा नगर प्रहरीको भूमिकाबारे अनुसन्धान भइरहेको छ। घटनास्थलमा भएको विवाद, नगर प्रहरीले अपनाएको व्यवहार तथा त्यसपछि विकसित घटनाक्रमका सबै पक्षको अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
घटनाले उठायो सार्वजनिक सेवामा व्यवहारको प्रश्न
राहदानी विभागअगाडि सार्वजनिक स्थानमै भएको आत्मदाह प्रयास र त्यसपछि उपचारका क्रममा भएको मृत्युले सरकारी सेवा प्रवाह, सेवाग्राहीसँग सुरक्षाकर्मीको व्यवहार तथा सार्वजनिक निकायमा तनाव व्यवस्थापनका विषयमा गम्भीर बहस सुरु भएको छ।
घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट उठ्न थालेको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।







प्रतिक्रिया दिनुहोस्