‘श्रमिक वर्गमाथिको अमानवीय व्यवहारको शिकार बने गणेश’, सदनमा ‘सरकार मुर्दावाद’ को नारा
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारमाथि तीव्र राजनीतिक आक्रमण गरेको छ। एमालेले गणेश नेपाली श्रमिक वर्गमाथि राज्यले गरेको “अमानवीय व्यवहार” को शिकार बनेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।
पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपाली रोजगारीका लागि काठमाडौं आएर राइडरका रूपमा संघर्ष गरिरहेका बेला राज्य संयन्त्रबाट भएको दबाब र प्रताडनाका कारण आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य भएको दाबी गरेका छन्।
एमालेले उपचारका क्रममा गणेशको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।
‘सरकार जनविरोधी र अमानवीय गतिविधिमा संलग्न’
एमालेले वर्तमान सरकारले गरिब, श्रमिक, सुकुम्बासी तथा निमुखा नागरिकमाथि शृंखलाबद्ध रूपमा जनविरोधी र अमानवीय गतिविधि गरिरहेको आरोप लगाएको छ।
वक्तव्यमा सरकार पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा दिएर सत्तामा पुगे पनि व्यवहारमा जनताविरोधी नीति अपनाएको दाबी गरिएको छ।
एमालेका अनुसार सुकुम्बासी बस्ती हटाउने नाममा वर्षायामकै बीच हजारौं नागरिकलाई घरबारविहीन बनाइएको, उनीहरूको सुरक्षित आवासको अधिकार हनन गरिएको र सयौं बालबालिकाको शिक्षासमेत प्रभावित भएको छ।
पार्टीले सरकारको नीति र व्यवहारका कारण हालसम्म चार जना सुकुम्बासीले आत्महत्या गरेको तथा सयौं नागरिक मानसिक तनाव र अवसादको सिकार बनेको दाबी पनि गरेको छ।
त्यस्तै, सरकार गठन भएको पहिलो १०० दिनभित्र व्यवस्थापनको अभाव, विस्थापनको त्रास र मानसिक तनावका कारण भेषराज दर्जी, कर्णबहादुर थापा, रिन तामाङ, इन्द्रबहादुर राई र उज्ज्वल तामाङलगायतले ज्यान गुमाएको दाबी एमालेले वक्तव्यमा गरेको छ।
एमालेले राज्यद्वारा सञ्चालन गरिएका अस्थायी होल्डिङ सेन्टरबाट समेत नागरिकलाई हट्न अल्टिमेटम दिने, धम्की दिने तथा भोकमरीको जोखिममा धकेल्ने कार्यलाई अमानवीय भन्दै आपत्ति जनाएको छ।
पार्टीले लोकतन्त्रमा जनादेशको अर्थ स्वेच्छाचारिता नभएको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको बाँच्न पाउने अधिकार तथा सुरक्षित आवासको अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै गरिब र श्रमिक नागरिकमाथिको दमन तत्काल रोक्न र उनीहरूको सुरक्षित व्यवस्थापनको व्यवस्था गर्न माग गरेको छ।
सदनमा सरकारविरुद्ध ‘मुर्दावाद’
गणेश नेपालीको मृत्युलाई लिएर प्रतिनिधिसभामा पनि एमालेले सरकारको चर्को आलोचना गरेको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारविरुद्ध “मुर्दावाद” को नारा लगाउँदै गणेश नेपालीको मृत्युको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
उनले गणेश नेपालीलाई आत्मदाहको अवस्थासम्म पुर्याउने परिस्थिति राज्यकै असंवेदनशील व्यवहारका कारण सिर्जना भएको आरोप लगाए।
वीर अस्पतालमा उपचारका क्रममा परिवारले भोग्नुपरेको अवस्थाको उल्लेख गर्दै महरले सरकारले घटना भएपछि मात्र देखावटी रूपमा सक्रियता देखाएको टिप्पणी गरे।
उनले भने, “घटना भएपछि मात्रै अस्पताल पुगेर देखावटी राजनीति गर्ने काम सरकारले बन्द गर्नुपर्छ।”
महरले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने दाबी गरे।
घटनाको अनुसन्धान जारी
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो भने आगोको धुवाँ र तातो हावा फोक्सोसम्म पुगेका कारण अवस्था अत्यन्त गम्भीर बनेको थियो। उपचारका क्रममा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गरिए पनि शुक्रबार बिहान उनको मृत्यु भएको थियो।
यस घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार राहदानी विभागअगाडि पार्क गरिएको गणेश नेपालीको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि विवाद भएको र त्यसलगत्तै उनले आत्मदाहको प्रयास गरेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
गणेश नेपालीको मृत्युले सार्वजनिक सेवा प्रवाह, श्रमिकप्रतिको राज्यको व्यवहार र सरकारी निकायको उत्तरदायित्वबारे राजनीतिक तथा सामाजिक बहसलाई थप तीव्र बनाएको छ।






प्रतिक्रिया दिनुहोस्