काठमाडौं। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा दुई रोमाञ्चक खेलपछि इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। शनिबार राति भएका क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २–१ तथा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन्।
दुवै खेलमा सुरुआती अग्रता विपक्षी टोलीले लिए पनि इंग्ल्यान्ड र अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै आफ्नो अनुभव र व्यक्तिगत क्षमताको प्रदर्शन गरेका थिए।
बेलिङ्घमको जादु, अतिरिक्त समयमा केनको पासमा जित दिलाउँदै इंग्ल्यान्ड सेमिफाइनलमा
मियामीको हार्ड रक स्टेडियममा भएको खेलको सुरुआतदेखि नै इंग्ल्यान्डले बलमाथि नियन्त्रण कायम राखेको थियो। पहिलो हाफमा करिब ६५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखे पनि नर्वेको अनुशासित रक्षापंक्ति र तीव्र काउन्टर आक्रमणका कारण इंग्ल्यान्डले स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गर्नुपरेको थियो।
नर्वेले ३६औँ मिनेटमा खेलको पहिलो गोल गर्यो।
मिडफिल्डमा प्याट्रिक बर्गले कप्तान ह्यारी केनबाट बल खोसेपछि इंग्लिस खेलाडीहरूले फाउलको अपिल गरे। तर रेफ्री क्लेमाँ टर्पिनले खेल जारी राखे। त्यसको फाइदा उठाउँदै आन्द्रियास स्केल्डेरुप बायाँतर्फबाट अघि बढे र उनको घुमाउरो प्रहार गोलपोस्टमा लाग्दै गोलरक्षक जोर्डन पिकफोर्डलाई झुक्याएर जालीमा पुगेपछि नर्वे १–० ले अघि बढ्यो।
गोलपछि नर्वेले लगातार दबाब सिर्जना गर्यो। एर्लिङ हालान्ड र अलेक्जेन्डर सोर्लोथले इंग्ल्यान्डको रक्षापंक्तिलाई निकै कठिन अवस्थामा पुर्याए। विशेषगरी पहिलो हाफको अन्त्यतिर दुई विरुद्ध एकको अवस्थामा पुगे पनि सोर्लोथले अन्तिम पास मिलाउन नसक्दा हालान्ड उत्कृष्ट अवसरबाट वञ्चित भए।
त्यही अवसर गुमाउनु नर्वेलाई महँगो सावित भयो।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्थोनी गोर्डनको लो–क्रस बेलिङ्घमसम्म पुग्यो। बेलिङ्घमले दुई टचपछि बक्सभित्रबाट उत्कृष्ट घुमाउरो प्रहार गर्दै खेल १–१ को बराबरीमा ल्याए।
दोस्रो हाफमा खेल झन् प्रतिस्पर्धात्मक बन्यो। दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो।
अतिरिक्त समयको अन्तिम चरणमा कप्तान ह्यारी केनले उत्कृष्ट थ्रु–पास उपलब्ध गराएपछि जुड बेलिङ्घमले गोलरक्षकलाई छलाउँदै दोस्रो गोल गरे। बेलिङ्घमको व्यक्तिगत दोस्रो गोलसँगै इंग्ल्यान्डले २–१ को अग्रता लियो, जुन अन्तिमसम्म कायम रह्यो।
यो जितसँगै इंग्ल्यान्ड लगातार अर्को विश्वकप सेमिफाइनलमा पुगेको छ।
स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गर्दै अर्जेन्टिनाको शानदार यात्रा
कान्सास सिटीमा भएको अर्को क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हरायो।
खेलको सुरुआतदेखि नै अर्जेन्टिनाले आक्रमणको प्रयास गरे पनि स्विट्जरल्यान्डले अत्यन्त अनुशासित रक्षात्मक खेल प्रस्तुत गर्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा खुलेको थियो। दुवै टोलीले गोल आदान–प्रदान गरेपछि निर्धारित ९० मिनेट १–१ को बराबरीमा समाप्त भयो।
खेलको अन्त्यतिर स्विट्जरल्यान्डका ब्रिल एम्बोलो रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि अर्जेन्टिनाले लगातार दबाब बढायो तर स्विस गोलरक्षक ग्रेगर कोबेलले एकपछि अर्को उत्कृष्ट बचाउ गर्दै खेललाई अतिरिक्त समयसम्म पुर्याए।
११८औँ मिनेटमा अर्जेन्टिनाले अन्ततः निर्णायक सफलता पायो।
बेन्चबाट मैदान छिरेका जोसे म्यानुएल लोपेजले दिएको उत्कृष्ट पासलाई जुलियन अल्भारेजले नियन्त्रण गर्दै बक्सको बायाँ भागबाट शानदार घुमाउरो प्रहार गरे। बल सिधै गोलपोस्टको माथिल्लो कुनामा पुगेपछि अर्जेन्टिना २–१ ले अघि बढ्यो।
स्विट्जरल्यान्ड बराबरी गोलको खोजीमा सबै खेलाडी अघि बढेपछि अर्जेन्टिनाले काउन्टर आक्रमणको अवसर पायो।
इन्जुरी समय (१२०+१) मा थियागो आल्माडाको प्रहार गोलरक्षक कोबेलले रोके पनि रिबाउन्डमा पुगेका लाउटारो मार्टिनेजले खाली पोस्टमा सहज गोल गर्दै अर्जेन्टिनाको जित ३–१ ले सुनिश्चित गरे।
मेसीले गोल गर्न नसके पनि बने खेलका सूत्रधार
अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले गोल गर्न नसके पनि खेलभरि आक्रमण निर्माण, पास वितरण र अवसर सिर्जना गर्ने भूमिकामा प्रभावशाली प्रदर्शन गरे।
मेसीका केही प्रहार स्विस गोलरक्षक कोबेलले उत्कृष्ट रूपमा बचाए भने इन्जुरी समयमा उनको अर्को प्रयास थोरै अन्तरले बाहिरिएको थियो।
अब सेमिफाइनलमा इंग्ल्यान्ड–अर्जेन्टिना महामुकाबला
दुवै क्वार्टरफाइनल जितसँगै विश्व फुटबलका दुई शक्तिशाली राष्ट्र इंग्ल्यान्ड र अर्जेन्टिना अब सेमिफाइनलमा आमनेसामने हुने भएका छन्।
एकातर्फ जुड बेलिङ्घम उत्कृष्ट लयमा छन् भने अर्कोतर्फ लियोनेल मेसी आफ्नो अर्को विश्वकप उपाधिको खोजीमा छन्। ह्यारी केन, जुलियन अल्भारेज, लाउटारो मार्टिनेज, एन्थोनी गोर्डन, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टरजस्ता स्टार खेलाडीहरूको उपस्थितिले यो खेल विश्वकप २०२६ कै सबैभन्दा बहुप्रतीक्षित सेमिफाइनलमध्ये एक हुने अपेक्षा गरिएको छ।
दुई पूर्व विश्वविजेता टोलीबीच हुने यो भिडन्तले विश्वकप फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ भने फुटबल समर्थकहरूले अर्को ऐतिहासिक प्रतिस्पर्धाको प्रतीक्षा गरिरहेका छन्।







प्रतिक्रिया दिनुहोस्