काठमाडौँ — नेपाल र भारतबीचको ऊर्जा संयन्त्रको महत्त्वपूर्ण बैठकमा भाग लिन भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर भोलि (जुलाई १३ मा) नेपाल भ्रमणमा आउने भएका छन्।
महावर भारतीय विदेश मन्त्रालयमा चीन, नेपाल र भुटान मामिला हेर्ने ‘नर्थ डिभिजन’ का प्रमुख हुन्। उच्चस्तरीय ऊर्जा बैठकमा भाग लिनका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी काठमाडौँ ओर्लन लागेका हुन्।
परराष्ट्र मन्त्रीसँग द्विपक्षीय भेटवार्ता
नेपाल भ्रमणका क्रममा अतिरिक्त सचिव महावरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उक्त भेटमा नेपाल–भारतबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र हालैका उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौताहरूको कार्यन्वयनका विषयमा छलफल हुने बताइएको छ।
ऊर्जा संयन्त्रको बैठक जुलाई १४ र १५ मा
नेपालमा रहँदा महावर दुई देशबीचको ऊर्जा तथा जलस्रोत क्षेत्रको सबैभन्दा शक्तिशाली संयन्त्रको बैठकमा सहभागी हुनेछन्।
- बैठकको कार्यतालिका: यो बैठक जुलाई १४ र १५ तारिखका (असार ३० र ३१ गते) लागि तय गरिएको छ।
- संयन्त्रहरू: बैठकमा दुई देशबीचको ऊर्जा/जलस्रोत हेर्ने संयुक्त समिति (JSC – Joint Steering Committee) तथा संयुक्त कार्यदल (JWG– Joint Working Group) का एजेन्डाहरूमाथि घनीभूत छलफल हुनेछ।
यस दुई दिने बैठकमा नेपाल र भारतबीच भइरहेको विद्युत व्यापार, अन्तर्देशीय प्रसारण लाइन (Cross-Border Transmission Lines) को विस्तार, निर्माणाधीन जलविद्युत आयोजनाहरूको प्रगति समीक्षा तथा आगामी दशकमा नेपालबाट १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने दीर्घकालीन सम्झौताको कार्यान्वयनका मोडालिटीबारे महत्त्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया दिनुहोस्