काठमाडौं, २८ असार । आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ।
गृह मन्त्रालयमा आइतबार भएको छलफलपछि सरकार र मृतक नेपालीका परिवारबीच राहत, क्षतिपूर्ति, छानबिन तथा कानुनी प्रक्रियासम्बन्धी ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार सरकारले गणेश नेपालीका परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, घटनाको छानबिन गर्न गठित समितिले पेस गर्ने प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ।
सरकारले घटनासम्बन्धी सत्यतथ्य सार्वजनिक गर्दै पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेको छ। सहमतिपछि परिवारले पनि आन्दोलनका कार्यक्रम स्थगित गर्ने जनाइएको छ।
गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर अवस्थामा वीर अस्पतालमा उपचाररत रहेका उनको उपचारकै क्रममा निधन भएको थियो। घटनापछि देशभर चर्को जनचासो र विरोध प्रदर्शन भएको थियो।









प्रतिक्रिया दिनुहोस्