काठमाडौं २९ असार । नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद्लगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले माल्यार्पण, प्रभातफेरी, काव्य वाचन, विचार गोष्ठी तथा विशेष समारोह आयोजना गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रम पनि सम्पन्न हुँदैछ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्यले संस्कृत भाषामा रचित रामायणलाई नेपाली भाषामा भावानुवाद गरी आम नेपालीका लागि सहज रूपमा उपलब्ध गराएका थिए। उनले रचना गरेको रामायण आज पनि नेपाली समाजमा श्रद्धापूर्वक पाठ गरिने प्रमुख धार्मिक तथा साहित्यिक कृतिका रूपमा स्थापित छ।
इतिहासकार तथा साहित्यकारहरूले पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत भावनात्मक रूपमा एकतामा बाँध्ने महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै आएका छन्।
किंवदन्तीअनुसार, एक सामान्य घाँसीले “मानिसले जन्मिएपछि समाजका लागि सम्झनलायक काम गर्नुपर्छ” भन्ने प्रेरणा दिएपछि भानुभक्त साहित्य सिर्जनातर्फ अझ गम्भीर रूपमा लागेका थिए, जसले नेपाली भाषामा रामायण रचना गर्ने प्रेरणा दिएको विश्वास गरिन्छ।
रामायण बाहेक वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता तथा अन्य फुटकर रचनाहरू पनि उनका चर्चित कृतिका रूपमा परिचित छन्। नेपाली भाषा, राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र साहित्यको विकासमा उनको योगदान ऐतिहासिक मानिन्छ।
भानु जयन्तीका अवसरमा देशभरका विद्यालय, साहित्यिक संस्था तथा समुदायमा रामायण पाठ, काव्य गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्। भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमार (बर्मा) लगायत नेपाली भाषी समुदाय बसोबास गर्ने विभिन्न देश तथा क्षेत्रमा पनि भानुभक्तको जन्मजयन्ती श्रद्धापूर्वक मनाउने परम्परा रहेको छ।






प्रतिक्रिया दिनुहोस्