काठमाडौं – सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार दुवै निकायमा नयाँ नेतृत्व चयन गरिएको हो।
नवनियुक्त प्रेस काउन्सिल अध्यक्ष श्रेष्ठले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। नियुक्तिपत्र हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताउँदै सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने बताए।
उनले पछिल्लो समय गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौती बनेको उल्लेख गर्दै त्यसको पहिचान र समाधानका लागि काउन्सिलले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। सञ्चार क्षेत्रलाई बलियो बनाउन पुराना कानुन समयानुकूल संशोधन गरिने तथा मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकमाथिको छलफल अगाडि बढिसकेको जानकारी पनि उनले दिए।
नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेकाले त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमन प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो। उनले सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्दै प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई पाँच वर्षका लागि नियुक्त गरेको छ। अध्यादेशमार्फत पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएपछि घिमिरे निमित्त अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए।
घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण क्षेत्रमा कार्यरत थिए। उनले उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि दूरसञ्चार प्राधिकरणको अध्यक्षसहित पदाधिकारीहरू पदमुक्त भएका थिए। त्यसपछि सञ्चार मन्त्रालयले वैशाख २६ गते रिक्त अध्यक्ष तथा सदस्य पदका लागि आवेदन आह्वान गरेको थियो।
अध्यक्ष पदका लागि आवेदन दिएका २९ उम्मेदवारमध्ये सिफारिस समितिले नौ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो। व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि अर्जुन घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय सरकारले गरेको हो।







प्रतिक्रिया दिनुहोस्