काठमाडौं — प्रतिनिधिसभाको मंगलबारको बैठक प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कार्यशैली, सरकारमाथि उठेका प्रश्न र संसद्भित्र प्रयोग भएको भाषालाई लिएर तातिएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीमाथि तीव्र राजनीतिक प्रहार गर्दै सरकार निरंकुश बन्दै गएको आरोप लगाए भने प्रधानमन्त्रीलाई “श्री ८” सँग तुलना गरेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा नियमापत्ति जनाएको छ।
संसद्मा बोल्दै कांग्रेस सांसद राईले सरकारले प्रधानमन्त्रीलाई कानुन र संविधानभन्दा माथिको व्यक्तिका रूपमा स्थापित गर्न खोजेको आरोप लगाए। उनले सरकार प्रश्न गर्न नदिने प्रवृत्तितर्फ उन्मुख भएको दाबी गर्दै प्रधानमन्त्रीलाई “श्री ८” को संज्ञा दिएका थिए।
“सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने स्थापित गर्न खोजिरहेको छ। संविधान र कानुनको परिधिभित्र उठ्ने प्रश्नभन्दा पनि माथि उहाँ हुनुहुन्छ भन्ने सन्देश सरकारले दिन खोजिरहेको छ,” राईले भने।
उनले सरकारको शैलीप्रति कटाक्ष गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजिएको आरोप लगाए। “तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु; तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु; तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु,” भन्ने शैलीमा सरकारले लोकतान्त्रिक अधिकार सीमित गर्न खोजेको उनको भनाइ थियो।
राईले सरकारको कार्यशैलीलाई पुराणका पात्र हिरण्यकश्यपसँग समेत तुलना गर्दै लोकतन्त्रमा प्रश्न गर्ने अधिकार कसैले खोस्न नसक्ने बताए। उनले मुगुका गणेश नेपाली प्रकरण, सुकुम्बासी होल्डिङ सेन्टरका नागरिकमाथि भएको भनिएको धम्की तथा पछिल्ला विवादित घटनामा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे।
उनका अनुसार सुरक्षाघेराभित्र लुकेर हिँड्ने “अनधिकृत पात्र” हरूको गतिविधिले नागरिकमा त्रास बढेको छ। सरकारले यस्ता गतिविधिलाई संरक्षण दिएको आरोप लगाउँदै उनले सत्तापक्षका सांसदहरू समेत बोल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे।
‘श्री ८’ टिप्पणी रेकर्डबाट हटाउन रास्वपाको माग
कांग्रेस सांसद राईको अभिव्यक्तिपछि रास्वपाका सांसद शिवजी यादवले तत्काल नियमापत्ति जनाउँदै प्रधानमन्त्रीलाई “श्री ८” भनेर सम्बोधन गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत भएको बताए।
“हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौं। सम्माननीय प्रधानमन्त्रीलाई ‘श्री ८’ को सरकार भनेर सम्बोधन गर्नु संविधान र संसदीय मर्यादाअनुकूल छैन,” उनले भने।
यादवले उक्त अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग माग गरे।
नेकपाको आरोप : राज्यकै संरक्षणमा त्रास सिर्जना
उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले पनि सरकारमाथि गम्भीर आरोप लगाउँदै राज्यबाट संरक्षण प्राप्त व्यक्तिहरूले नै देशमा त्रास फैलाउने गतिविधि गरिरहेको दाबी गरे।
उनले गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्न न्युरोडलगायतका मुख्य सडकमा दिनभर सडक अवरुद्ध गराइएको, मिडिया हाउसअगाडि सवारीसाधन तेर्स्याएर राखिएको तथा प्रमुख प्रतिपक्षी दलका नेताको घरसम्म पुगेर दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए।
“राज्य संरक्षित व्यक्तिहरूबाटै यस्तो गतिविधि भइरहेको छ। यस्ता कार्यमा संलग्नलाई सामान्य जरिवाना गरेर छाड्ने होइन, कडा अनुसन्धान गरी कानुनी कारबाही हुनुपर्छ,” मल्लले भने।
उनले मिडिया हाउस अवरोध गर्ने सवारीसाधन जफत गर्न, लाखौँ रुपैयाँ जरिवाना लगाउन र योजनाकारसम्म पुगेर कारबाही गर्न सरकारलाई आग्रह गरे।
मल्लले प्रधानमन्त्री बालेन शाहले राष्ट्रियतासम्बन्धी विवादित अभिव्यक्ति सच्याउन नसकेको, सरकार जनताको पक्षमा प्रभावकारी काम गर्न असफल भएको तथा सुकुम्बासीसहित विपन्न समुदायमाथि निरन्तर दबाब सिर्जना गरेको आरोप पनि लगाए।
संसद्मा बढ्दो राजनीतिक ध्रुवीकरण
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको कार्यशैली, सरकारको आलोचना गर्ने स्वतन्त्रता, राज्य संयन्त्रको प्रयोग तथा संसदीय मर्यादालाई लिएर सत्ता र प्रतिपक्षबीच तीव्र आरोप–प्रत्यारोप देखिएको छ। प्रधानमन्त्रीलाई “श्री ८” सँग तुलना गरिएको अभिव्यक्तिले संसदीय बहसलाई थप तातो बनाएको छ भने रास्वपाले उक्त टिप्पणी अभिलेखबाट हटाउन औपचारिक माग गरेपछि संसद्मा नयाँ विवाद उत्पन्न भएको छ।







प्रतिक्रिया दिनुहोस्