काठमाडौं, — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजमा झूटलाई नै सत्यका रूपमा स्थापित गर्ने प्रवृत्ति तीव्र बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले अहिलेको राजनीतिक तथा सामाजिक परिवेशलाई “गोयबल्स शैलीभन्दा पनि महागोयबल्स शैली” को संज्ञा दिँदै सत्य र असत्यबीचको सीमारेखा धमिलिँदै गएको टिप्पणी गरेका हुन्।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले समाजमा कालोलाई सेतो र सेतोलाई कालो देखाउने प्रवृत्ति बढेको बताए।

“हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो गरिदिने, अनि त्यसैलाई मानिसले पत्याउने अवस्था आएको छ। यसलाई गोयबल्स शैली भनिन्थ्यो, अहिले त गोयबल्सभन्दा पनि महागोयबल्स शैली चलेको छ,” ओलीले भने।
उनले अहिलेको सूचना प्रवाह र राजनीतिक प्रचार–प्रसारको अवस्थाप्रति संकेत गर्दै समाज नै झूटलाई स्वीकार गर्ने दिशातर्फ उन्मुख भएको हो कि भन्ने चिन्ता व्यक्त गरे।
“यस्तो लाग्छ, समाज नै झूटमा रमाउन थालेको हो कि! समाजले सत्य बोल्नै छाडेको हो कि! सोझो बन्नै छाडेको हो कि! यस्तो खालको परिस्थिति देखापर्न थालेको छ,” उनले भने।
एमालेमाथि योजनाबद्ध भ्रम फैलाइएको दाबी
अध्यक्ष ओलीले पछिल्लो समय एमालेविरुद्ध योजनाबद्ध रूपमा झूट र भ्रम फैलाएर राजनीतिक आक्रमण भइरहेको दाबी गरे। गलत सूचना र निरन्तर दोहोरिने प्रचारका कारण जनमत प्रभावित पार्ने प्रयास भइरहेको उनको भनाइ थियो।
उनले दोस्रो विश्वयुद्धताका नाजी जर्मनीका प्रचारमन्त्री जोसेफ गोयबल्स ले झूटलाई पटक–पटक दोहोर्याएर सत्यझैँ स्थापित गर्ने प्रचारशैली अपनाएको स्मरण गर्दै अहिलेको अवस्था त्यसभन्दा पनि अगाडि पुगेको टिप्पणी गरे।
डिजिटल प्रविधिको सही प्रयोगमा जोड
ओलीले अहिलेको सूचना–प्रविधिको युगमा सत्य र तथ्यलाई जनतासम्म पुर्याउन डिजिटल माध्यमको प्रभावकारी उपयोग अपरिहार्य भएको बताए। उनले एमालेको वेबसाइट र मोबाइल एपको नयाँ संस्करण पार्टीलाई थप आधुनिक, जनमुखी र प्रविधिमैत्री बनाउने अभियानको हिस्सा भएको उल्लेख गरे।
उनले सूचना प्रविधि लोकतान्त्रिक संवादका लागि अवसर भए पनि त्यसको दुरुपयोगले समाजमा भ्रम, अविश्वास र गलत सूचना फैलाउने जोखिम पनि बढाएको बताए।
जेनजीको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता
सोही कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल ले नयाँ पुस्ताको सोच र आकांक्षालाई आत्मसात् गर्दै पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले एमाले सधैं आफूलाई अद्यावधिक गर्ने क्षमता भएको पार्टी भएको उल्लेख गर्दै जेनजी (Generation Z) को भावना, प्रविधि र नवीन सोचसँग हातेमालो गरेर मुलुकलाई सही दिशातर्फ अघि बढाउने बताए।
“हामी नवयुवाहरूको भावनालाई आत्मसात् गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन प्रतिबद्ध छौँ। आजका चुनौती सामना गर्न नयाँ पुस्तासँग सहकार्य गर्न र प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउन आवश्यक छ,” पोखरेलले भने।
उनले कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधिको विश्वव्यापी प्रभावलाई नेपालले पनि गम्भीर रूपमा लिनुपर्ने बताए। यद्यपि प्रविधि गलत उद्देश्यका लागि प्रयोग भए त्यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती सिर्जना गर्न सक्ने चेतावनी दिए।
गत भदौ २३–२४ को जेनजी आन्दोलन र पछिल्ला राजनीतिक घटनाक्रमलाई उदाहरण दिँदै उनले सूचना प्रविधिको दुरुपयोगले समाजमा भ्रम सिर्जना गर्ने खतरा बढेको उल्लेख गरे।
सूचना प्रविधि र राजनीतिक प्रतिस्पर्धाको नयाँ बहस
एमालेले आफ्नो वेबसाइट र मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरेको कार्यक्रम केवल प्रविधि अद्यावधिक गर्ने अवसर मात्र नभई डिजिटल युगमा सूचना, सत्यता र राजनीतिक सञ्चारको भूमिकामाथि नयाँ बहस सुरु गर्ने मञ्चसमेत बनेको देखिएको छ। कार्यक्रममा अध्यक्ष ओलीले झूटको राजनीतिक प्रयोगप्रति चिन्ता व्यक्त गरे भने महासचिव पोखरेलले प्रविधिलाई नयाँ पुस्तासँग जोड्दै लोकतान्त्रिक मूल्यको संरक्षणमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।







प्रतिक्रिया दिनुहोस्