काठमाडौँ : नेपालको नागरिक आन्दोलनका अथक अगुवा, अर्थविद् तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। प्याङ्क्रियाजको क्यान्सरबाट पीडित डा. पाण्डेको शुक्रबार साँझ ७:४० बजे काठमाडौँको विशालनगरस्थित आफ्नै निवासमा निधन भएको हो।
डा. पाण्डेको उपचारमा संलग्न चिकित्सक डा. अनुप सुवेदीका अनुसार, उनी विगत ५–६ महिनादेखि क्यान्सरसँग संघर्षरत थिए। बिहीबार स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई ह्याम्स र पाटन अस्पतालमा उपचार गराई घर ल्याइएको थियो।
सार्वजनिक जीवन र योगदान
सरकारी सेवाको सचिव पदमा कार्यरत रहँदा २०३६ सालमा जनमत सङ्ग्रहको पूर्वसन्ध्यामा राजीनामा दिएर सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका पाण्डे नेपालको लोकतान्त्रिक आन्दोलनका एक स्तम्भ मानिनुहुन्थ्यो। ४० को दशकदेखि नै उनी सार्वजनिक अभियानमा होमिएका थिए।
२०४६ सालको जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा उनी नागरिक समाजको तर्फबाट स्वतन्त्र अर्थमन्त्री बनेका थिए। त्यसैगरी, उनी नेपालमा स्वावलम्बन अभियानका सुरुवातकर्ता र ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका संस्थापकसमेत हुन्।
द्वन्द्वकालमा शान्ति प्रक्रिया अघि बढाउन नागरिक तहबाट उनले खेलेको भूमिका निकै महत्वपूर्ण मानिन्छ। २०६२–६३ को ऐतिहासिक जनआन्दोलनमा पनि उनले नागरिक आन्दोलनको नेतृत्व गरेका थिए। भारतका पूर्वप्रधानमन्त्री आइके गुजरालसहितको पहलमा ‘साउथ एसियन फर ह्युमन राइट्स’ को स्थापनामा उनको विशेष भूमिका रहेको थियो।
स्वर्गीय पाण्डेका श्रीमती पद्मा, एक छोरी, ज्वाइँ र नाति छन्। उनको अन्तिम संस्कार शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।


















प्रतिक्रिया दिनुहोस्