काठमाडौं । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाएर नयाँ युगको सुरुआत गर्ने नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ अब इतिहासका पानामा सीमित भएका छन्।
पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको भीषण हिमपहिरोमा परी उनको निधन भएको छ।
उनी संस्थापक रहेको इलाइट एक्सपेडका साथै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शनिबार सामाजिक सञ्जालमार्फत पुर्जासहित ६ जना नेपालीको तस्वीरसहित श्रद्धान्जली व्यक्त गरेपछि उनीसहित सबै नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । उनको निधन पुष्टि भएसँगै नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदाय नै शोकमा डुबेको छ।
गत बिहीबार बिहान ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोले पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोलीलाई चपेटामा पारेको थियो।
दुर्घटनामा उनका विश्वासिला आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ ‘युक्ता’ र निमा शेर्पाको पनि निधन भएको कम्पनीले जनाएको छ। टोलीका अन्य केही सदस्य पनि हिमपहिरोमा परेर ज्यान गुमाएको पुष्टि भएको छ।
इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ हामी पुष्टि गर्दछौं कि ब्रोड पिकमा आएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको छ। उहाँसँगै ज्यान गुमाउने सबै सहयात्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।’ कम्पनीले परिवारको गोपनीयताको सम्मान गर्न पनि सबैसँग आग्रह गरेको छ।
ब्रोड पिक आरोहणअघि उनले लेखेका थिए : ‘फेरि सकुशल घर फर्किन पनि देऊ’
ब्रोड पिक आरोहणका लागि प्रस्थान गर्नुअघि निर्मल ‘निम्सदाइ’ पुर्जाले आफ्नो सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गरेका थिए। उक्त सन्देशमा उनले ब्रोड पिकसँग मानौं संवाद गर्दै सुरक्षित आरोहण र सकुशल फर्किन पाउने कामना गरेका थिए।
उनले लेखेका थिए, ‘ब्रोड पिक, तिमीसँग मेरो एउटै प्रार्थना छ, मलाई सुरक्षित रूपमा शिखरसम्म पुग्न देऊ र फेरि सकुशल घर फर्किन पनि देऊ।’
सोही सन्देशमा पुर्जाले कुनै पनि हिमाललाई कहिल्यै सामान्य रूपमा नलिने आफ्नो पर्वतारोहण दर्शन पनि व्यक्त गरेका थिए। उनका अनुसार, बेसक्याम्पबाट पहिलो पाइला अघि बढाएपछि उनको सम्पूर्ण ध्यान, अनुशासन र समर्पण केवल त्यही अभियानमा केन्द्रित हुने गरेको थियो।
‘बेसक्याम्पबाट यात्रा सुरु गर्ने क्षणदेखि मेरो सम्पूर्ण समर्पण त्यही अभियानका लागि हुन्छ। म सधैं यही सिद्धान्तमा अघि बढेको छु, र सधैं त्यसैगरी अघि बढिरहनेछु,’ उनले उल्लेख गरेका थिए।
म्याग्दीको गाउँदेखि विश्व पर्वतारोहणको शिखरसम्म
म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पुर्जा भूपू सैनिक परिवारका सन्तान हुन्। उनको बाल्यकाल र प्रारम्भिक शिक्षा चितवनमा बितेको थियो। साहसिक जीवनप्रतिको आकर्षणका कारण उनी १८ वर्षको उमेरमा सन् २००३ मा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भए।
छ वर्ष गोर्खा राइफल्समा सेवा गरेपछि उनले अर्को ऐतिहासिक उपलब्धि हासिल गरे। उनी ब्रिटिस रोयल नेभीको अत्यन्त कठिन र प्रतिष्ठित विशेष फौज स्पेशल बोट सर्भिस (एसबीएस) मा प्रवेश पाउने पहिलो नेपाली बने।
अफगानिस्तानसहितका जोखिमपूर्ण सैन्य अभियानमा करिब १६ वर्ष सेवा गरेका पुर्जालाई असाधारण योगदानको कदरस्वरूप बेलायती महारानी एलिजाबेथ द्वितीयाले सन् २०१८ मा एमबीई सम्मान प्रदान गरेकी थिइन्।
६ महिना ६ दिनमा १४ हिमाल चढेर विश्वलाई चकित
सैन्य जीवनबाट अवकाश लिएपछि उनले पर्वतारोहणलाई पूर्णकालीन यात्राका रूपमा रोजे। सन् २०१९ मा सुरु गरेको ‘प्रोजेक्ट पोसिबल’ मार्फत उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिन मा आरोहण गरेर विश्व कीर्तिमान कायम गरे। यसअघि त्यही उपलब्धि हासिल गर्न वर्षौं लाग्ने गरेको थियो।
उनको यही अद्वितीय यात्रामा आधारित नेटफ्लिक्सको चर्चित वृत्तचित्र ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ ले उनलाई विश्वव्यापी पहिचान दिलायो। त्यसपछि उनी केवल एक सफल आरोही होइन, असम्भवलाई चुनौती दिने साहसका प्रतीकका रूपमा चिनिन थाले।
सन् २०२१ मा उनले १० नेपाली आरोहीको टोलीसँग मिलेर पाकिस्तानको ‘किलर माउन्टेन’ भनेर चिनिने के–टुको पहिलो सफल हिउँदे आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा अर्को स्वर्णिम अध्याय थपेका थिए।
शेर्पालाई सहयोगी होइन, नेताका रूपमा स्थापित गर्ने अभियान
निर्मल पुर्जाको लक्ष्य व्यक्तिगत कीर्तिमानमा मात्र सीमित थिएन। दशकौंसम्म अन्तर्राष्ट्रिय पर्वतारोहणमा नेपाली शेर्पा र गाइडहरूलाई केवल सहयोगीको भूमिकामा हेरिने प्रवृत्ति परिवर्तन गरेर उनीहरूलाई नेतृत्वदायी स्थानमा स्थापित गर्ने उनको स्पष्ट दृष्टिकोण थियो।
आफ्नो कम्पनी इलाइट एक्सपेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ लगायतका संस्थामार्फत उनले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा उभ्याउने अभियान चलाएका थिए।
कम्पनीले जारी गरेको वक्तव्यमा पनि उनको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले हजारौं आरोही तथा साहसिक यात्रुलाई प्रेरित गरेको उल्लेख गरिएको छ।
ब्रोड पिकको घातक हिमपहिरो
कराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक प्राविधिक रूपमा अत्यन्त जोखिमपूर्ण मानिन्छ। बिहीबार बिहान करिब ९.२० बजे आएको हिमपहिरोपछि पुर्जाको टोली सम्पर्कविहीन भएको थियो।
त्यसपछि ड्रोनमार्फत गरिएको खोजीमा हिमपहिरोले पुरिएका शवहरू देखिएपछि मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र सिरबाज खानको टोली परिचालन गरिएको थियो। त्यसपश्चात कम्पनीले उनको निधनको औपचारिक पुष्टि गरेको हो।
‘नथिङ इज इम्पोसिबल’ को विरासत
मृत्युलाई कैयौं पटक नजिकबाट पराजित गरेर फर्किएका निर्मल पुर्जा यसपटक भने ब्रोड पिकको हिउँमै सधैंका लागि बिलाए।
तर उनले विश्व पर्वतारोहणमा स्थापित गरेका कीर्तिमान, नेपाली आरोहीलाई दिलाएको सम्मान र ‘नथिङ इज इम्पोसिबल’ भन्ने जीवनदर्शन भने सदैव जीवित रहनेछ।
उनले लाखौं युवालाई ठूलो सपना देख्न, आफ्नै क्षमतामा विश्वास गर्न र सीमिततालाई चुनौती दिन सिकाए। त्यसैले निर्मल ‘निम्सदाइ’ पुर्जाको भौतिक अस्तित्व अन्त्य भए पनि उनले निर्माण गरेको प्रेरणाको शिखर भने कहिल्यै ढल्ने छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्