काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीच पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ।
सन् २०२६/२७ सिजनदेखि २०३०/३१ सिजनसम्म लागू हुने सम्झौताअनुसार माइडिया एफसी बार्सिलोनाको मुख्य साझेदार तथा अफिसियल होम एप्लायन्स पार्टनर बनेको छ।
यस सहकार्यअन्तर्गत बार्सिलोनाको पुरुष पहिलो टोलीले खेल तथा प्रशिक्षणका क्रममा प्रयोग गर्ने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो राखिनेछ। क्लबले सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक समावेश गरिएको हो।
जर्सीभन्दा बाहिर पनि सहकार्य
दुवै संस्थाबीचको साझेदारी जर्सी प्रायोजनमा मात्र सीमित रहने छैन। आगामी पाँच वर्षसम्म संयुक्त सामग्री निर्माण, खेलदिवस गतिविधि, समर्थक सहभागिता तथा विभिन्न अन्तर्राष्ट्रिय बजार लक्षित अभियान सञ्चालन गरिने जनाइएको छ।
माइडियाका अनुसार खेलकुद, प्रविधि र आधुनिक जीवनशैलीलाई एउटै प्लेटफर्ममा जोड्दै विश्वभरका उपभोक्ता र फुटबल समर्थकसँग थप नजिकिने लक्ष्य राखिएको छ।
दुवै पक्षको प्रतिक्रिया
एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले अनुसन्धान, नवप्रवर्तन र स्मार्ट होम प्रविधिप्रति माइडियाको प्रतिबद्धता क्लबको भविष्यकेन्द्रित दृष्टिकोणसँग मेल खाने बताए।
त्यस्तै, माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले विश्वकै लोकप्रिय फुटबल क्लबहरूमध्ये एक बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिए।
नेपाली समर्थकका लागि पनि उत्साह
नेपालमा ठूलो संख्यामा रहेका बार्सिलोना समर्थकहरूले अब आफ्नो प्रिय क्लबको जर्सीमा माइडियाको लोगो प्रत्यक्ष रूपमा देख्न पाउने भएका छन्। कम्पनीका अनुसार यस सहकार्यले नेपाली उपभोक्तामाझ माइडियाको ब्रान्ड पहिचानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सन् १९६८ मा स्थापना भएको माइडिया विश्वका अग्रणी होम एप्लायन्स तथा स्मार्ट प्रविधि कम्पनीमध्ये एक हो। नेपालमा यसको आधिकारिक बिक्री तथा वितरण सीजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ। कम्पनीका वासिङ मेसिन, रेफ्रिजरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, एयर प्युरिफायरलगायतका उत्पादन नेपाली बजारमा उपलब्ध छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्