काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा नै सेयर उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले केही आयोजनाको आईपीओ निष्कासनमा भएको ढिलाइका कारण स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने विषय उठेकोप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावितका लागि छुट्याइने १० प्रतिशत सेयर अङ्कित मूल्यमा नै उपलब्ध गराउनु कानुनी व्यवस्थाअनुसार हुने भन्दै इप्पानले त्यसको पालना गर्न सदस्य कम्पनीलाई अनुरोध गरेको छ।
इप्पानका अनुसार जलविद्युत् आयोजना केवल लगानीको माध्यम नभई स्थानीय समुदायसँगको साझेदारी र विश्वासमा आधारित विकासको अभियान हो। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने स्थानीयलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै सेयर छुट्याउने व्यवस्था गरिएको उल्लेख गरिएको छ।
स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा बिक्री गरिए उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व घट्ने र स्थानीय तथा प्रवर्द्धकबीचको विश्वासमा नकारात्मक असर पर्ने इप्पानको भनाइ छ।
इप्पानले अङ्कित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजनाको वास्तविक साझेदार बन्ने, सामाजिक विवाद कम हुने, आयोजना समयमै सम्पन्न गर्न सहज हुने र स्थानीयको दीर्घकालीन आर्थिक सशक्तीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
साथै, साधारण सेयर निष्कासनसँग सम्बन्धित नियामकीय प्रक्रिया सरल, पारदर्शी र समयबद्ध बनाउन तथा आईपीओ निष्कासनमा भइरहेको ढिलाइ अन्त्य गर्न सरकार र सम्बन्धित निकायसँग इप्पानले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्