काठमाडौँ, साउन १८ गते — श्वास फेर्ने अङ्ग फोक्सोमा हुने क्यान्सर नेपालमा मात्र नभएर विश्वभर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौती बनेको छ । विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धानको तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष करिब २५ लाखभन्दा बढी व्यक्तिमा फोक्सोको क्यान्सर पुष्टि हुन्छ, जसमध्ये १८ लाखभन्दा बढीको मृत्यु हुन्छ । क्यान्सरबाट हुने कुल मृत्युमा यो पहिलो स्थानमा छ ।
नेपालको अवस्था
नेपालमा हरेक वर्ष २२ हजारदेखि २४ हजारसम्म नयाँ क्यान्सरका बिरामी थपिन्छन् । तीमध्ये करिब दुई हजार ४०० भन्दा बढी फोक्सोको क्यान्सरका हुन्छन् । कुल क्यान्सर रोगीमध्ये १५ देखि १८ प्रतिशतमा यो रोग देखिन्छ । पुरुषमा लाग्ने क्यान्सरमध्ये फोक्सोको क्यान्सर पहिलो नम्बरमा छ भने महिलामा तेस्रो स्थानमा । करिब ५० देखि ५५ वर्ष उमेर समूहका व्यक्ति बढी प्रभावित छन् ।
मुख्य कारण : धूमपान र प्रदूषण
वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनीका अनुसार फोक्सोको क्यान्सरको करिब ८५ प्रतिशत कारण धूमपानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित छ । नेपालमा धूमपान गर्नेको सङ्ख्या अझै उच्च हुनु, सवारीसाधन र उद्योगबाट निस्कने धुवाँ, इँटा उद्योग, घरभित्र दाउरा तथा अन्य ठोस इन्धन प्रयोग र वायु प्रदूषणले जोखिम बढाइरहेको छ ।
फोक्सोका कोष अनियन्त्रित रूपमा बढ्न थालेपछि क्यान्सर हुन्छ । घरभित्रको धुवाँ, प्रत्यक्ष धूमपान, वायु प्रदूषण, औद्योगिक धुलो धुवाँ, हानिकारक ग्यास, वंशाणुगत कारण तथा दीर्घकालीन फोक्सोसम्बन्धी रोगले पनि जोखिम बढाउँछन् ।
ढिलो चिकित्सक : उपचार जटिल
क्यान्सर रोग विशेषज्ञ तथा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार अधिकांश बिरामी ढिलो चरणमा अस्पताल पुग्ने भएकाले उपचार जटिल हुन्छ । प्रारम्भिक चरणमा खासै लक्षण नदेखिने भएकाले धेरैले सामान्य खोकी वा दमको समस्या ठानेर बेवास्ता गर्छन् । रोग फैलिसकेपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिका कारण उपचारको सफलता घट्छ ।
चेतावनीका लक्षणहरू
तीन साताभन्दा बढी लगातार खोकी लागिरहनु, खोकीसँग रगत आउनु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, स्वर बस्नु, पटकपटक फोक्सोमा सङ्क्रमण हुनु, अत्यधिक थकान, भोक कम लाग्नु, तौल घट्दै जानु, काँध वा ढाड दुखिरहनु तथा लामो समयसम्म सामान्य औषधी गर्दा पनि समस्या निको नहुनु यस्ता लक्षण हुन् । डा. चालिसेले यस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो ।
बच्ने उपाय
क्यान्सरबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय धूमपान नगर्नु र गरिरहेको भए तत्काल त्याग्नु हो । परोक्ष धूमपानबाट पनि जोगिन जरुरी छ । वरिष्ठ छाती रोग विशेषज्ञ दिव्यराज मिश्रले नियमित शारीरिक व्यायाम, हरियो सागसब्जी र फलफूल बढी सेवन, वायु प्रदूषणबाट बच्ने, घरभित्र सफा इन्धन प्रयोग गर्ने तथा जोखिम समूहका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउने बानी बसाल्नुपर्ने बताउनुभयो ।
सरकारी प्रतिबद्धता र जनचेतना
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारले क्यान्सर रोग नियन्त्रणलाई प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल एनसीडी एलायन्सका महासचिव किशोरकुमार प्रधानाङले धूमपान नियन्त्रणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, सुर्तीजन्य पदार्थ प्रयोग घटाउने नीति, स्वच्छ हावाको सुनिश्चितता, विद्यालय तहदेखि जनचेतना कार्यक्रम सञ्चालन तथा जोखिममा रहेका व्यक्तिको समयमै परीक्षण गर्न सके मृत्युदर घटाउन सकिने बताउनुभयो ।
एक बिरामीको अनुभव
ललितपुर मानभवनको नेसनल चेस्ट सेन्टरमा उपचाररत ६२ वर्षीय एक बिरामीले सुरुमा सामान्य खोकी र थकान बेवास्ता गरेको तर महिनौँसम्म खोकी लागेपछि जाँच गर्दा क्यान्सर देखा परेको सुनाउनुभयो । औषधी खाँदा केही दिन निको भएजस्तो हुन्थ्यो, पछि फेरि दोहोरिन्थ्यो । खकारमा रगत आउन थालेपछि अस्पताल पुग्दा अवस्था जटिल भइसकेको उहाँले बताउनुभयो । उहाँले अरूलाई पनि सामान्य लक्षण देखिनासाथ चिकित्सककहाँ जान सल्लाह दिनुभयो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्