चितवन । जनधनको ठूलो क्षति पुर्याउँदै आएको जंगली हात्ती ‘ध्रुवे’ दाह्रा काटिएपछि निकुञ्जभित्रै बस्न थाले पनि फेरि बस्ती नजिक देखिएपछि चितवन राष्ट्रिय निकुञ्ज उच्च सतर्कतामा पुगेको छ।
गत असार ३१ गते नियन्त्रणमा लिएर दुवै दाह्रा काटिएको ध्रुवेलाई नयाँ रेडियो कलर जडान गरी निरन्तर निगरानीमा राखिएको छ। आइतबार बिहान माडीस्थित अमेलिया कृषि फर्म नजिक देखिए पनि बस्तीमा प्रवेश गरेर क्षति नपुर्याएको निकुञ्जले जनाएको छ।
निकुञ्ज प्रशासन र नेपाली सेनाले रेडियो कलरमार्फत प्रत्येक १० मिनेटमा ध्रुवेको गतिविधि अनुगमन गरिरहेका छन्। हात्ती बस्ती नजिक पुगेलगत्तै स्थानीय, मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन र वडा कार्यालयलाई तत्काल सूचना दिने व्यवस्था गरिएको छ।
निकुञ्जका अनुसार डार्ट गर्दा प्रयोग गरिएको औषधिको प्रभावका कारण ध्रुवेको गतिविधि केही शिथिल भए पनि कुनै पनि बेला बस्ती पस्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ।
ध्रुवेले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। पछिल्लोपटक गत असार २० गते माडीमा एकै परिवारका दुई जनाको मृत्यु भएपछि निकुञ्जले नियन्त्रणमा लिएर दाह्रा काट्ने निर्णय गरेको थियो। निकुञ्ज प्रशासनले यस्ता घटना दोहोरिन नदिन निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्