काठमाडौं । नेपाल प्रहरीले विराटनगरस्थित देवेनारा समूहका उद्योगी देवकिसन मुन्दडाको निवास र कार्यालयमा सोमबार बिहान छापा मारे पनि कुनै गैरकानुनी सामग्री फेला पार्न सकेन।
गोप्य सूचनाका आधारमा बिहान करिब ५ बजे पुगेको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले चार घण्टाभन्दा बढी समय घर र कार्यालयमा विस्तृत खानतलासी गरेको थियो।
प्रहरीका अनुसार खोजतलासका क्रममा कुनै अवैध सामग्री फेला नपरेपछि टोली रित्तै फर्किएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाबारे थप अनुसन्धान भने जारी रहेको जानकारी दिएका छन्।
उद्योगी देवकिसन मुन्दडाले प्रहरीले आफ्नो जिम्मेवारीअनुसार खोजतलास गरेको र आफूहरूले पूर्ण सहयोग गरेको बताए। उनले खोजीका क्रममा कुनै आपत्तिजनक सामग्री नभेटिएको पनि उल्लेख गरे।
देवेनारा समूहले बाबा रिफाइनरी, बाबा जुट मिल, जेजे ज्वेलर्स, हाइलाइफ चप्पललगायत विभिन्न उद्योग सञ्चालन गर्दै आएको छ। सात दशकभन्दा बढी समयदेखि औद्योगिक क्षेत्रमा सक्रिय यो समूह कोशी प्रदेशका प्रमुख औद्योगिक घरानामध्ये एक मानिन्छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्