काठमाडौं । देशभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । कास्कीको पोखरा क्षेत्रमा पनि ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ता खाली सिलिन्डर बोकेर डिपोहरूमा लामो लाइन बस्न बाध्य भएका छन् ।
यो असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमनलाई तीव्र पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको नेतृत्वमा पोखरास्थित प्रमुख ग्यास विक्रेता ‘चेरिस्मा इम्पोरियम’मा छड्के अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी बरालले बाहिरका कम्पनीले मागअनुसारको ग्यास नपठाउँदा केही समय आपूर्तिमा समस्या देखिएको स्वीकार गरे । बजारमा ग्यासको अभाव नहुने भन्दै उनले उपभोक्तालाई त्रसित नहुन र आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गरे ।
उनले अबका दुई–तीन दिनभित्रै बजारमा ग्यासको आपूर्ति पूर्णतः सहज हुने बताए । “प्रशासनको पहल र समन्वयका कारण अहिले आपूर्ति व्यवस्थामा सुधार आउन थालेको छ,” उनले भने, “नेपाल ग्यास, बाबा ग्यासलगायत कम्पनीहरूले पोखराका लागि ग्यास पठाइसकेका छन् । हाल पोखरामा दैनिक आठदेखि १० हजार सिलिन्डर ग्यास भित्रिरहेको छ ।”
ग्यास व्यवसायीले भने उपभोक्ताले अत्यधिक भण्डारण (होर्डिङ) गरेकाले बजारमा अभाव चुलिएको बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा देखिएको युद्धको हल्ला र अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेको चेरिस्मा इम्पोरियमकी सञ्चालक सीता बरालले बताइन् ।
उनले व्यवसायीमा भन्दा पनि उपभोक्ताकै तहमा धेरै ग्यास सञ्चित रहेको जिकिर गरिन् । “हामीले ग्यास लुकाएका छैनौँ, आपूर्ति हुनासाथ वितरण गरिरहेका छौँ,” उनले भनिन्, “केही उपभोक्ताले चार–पाँचवटासम्म सिलिन्डर स्टक राख्नुभएको छ, जसले गर्दा वास्तविक आवश्यक भएकाहरूले ग्यास पाउन सकेका छैनन् ।”
जिल्ला प्रशासन कार्यालयले ग्यासको कृत्रिम अभाव सिर्जना वा कालोबजारी गर्नेमाथि कडा निगरानी राखिने जनाएको छ ।
आपूर्ति व्यवस्थालाई नियमित बनाउन प्रशासनले व्यवसायी र ग्यास विक्रेता संघसँग निरन्तर समन्वय गरिरहेको छ । न्युज एजेन्सी नेपाल
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्