काठमाडौं — मुलुकमा नयाँ जनादेशपछि गठन भएको सरकारले निजी क्षेत्रसँग निरन्तर संवाद थालेपछि लगानीकर्तामा सकारात्मक सन्देश गएको व्यवसायी राजेन्द्र खेतानले बताउनुभएको छ। तर, अर्थतन्त्रलाई गति दिन अब छलफलभन्दा बढी सुशासन, नीतिको प्रभावकारी कार्यान्वयन र प्रशासनिक सुधार आवश्यक रहेको उहाँको भनाइ छ।
क्लिकमाण्डुसँगको विशेष अन्तर्वार्तामा खेतानले नेपालको आर्थिक समस्या कानुनभन्दा पनि कार्यान्वयन पक्षमा रहेको उल्लेख गर्दै सुशासन सुदृढ बनाउन सके धेरै समस्या स्वतः समाधान हुने धारणा राख्नुभयो। सरकारले निजी क्षेत्रसँग संस्थागत रूपमा गरेको छलफलले सकारात्मक सन्देश दिएको भए पनि अब त्यसलाई व्यवहारमा उतार्नुपर्ने उहाँको जोड छ।
उहाँले सरकारले उद्योग, पर्यटन, सूचना प्रविधि, ऊर्जा र वित्तीय क्षेत्रलाई समेटेर स्पष्ट श्वेतपत्र जारी गर्नुपर्ने सुझाव दिनुभयो। तीन, छ र नौ महिनाको स्पष्ट कार्ययोजना बनाएर अघि बढे अर्थतन्त्रले गति लिने उहाँको विश्वास छ।
खेतानले इज अफ डुइङ बिजनेस सुधार, नियमावली तथा निर्देशिकाको समयानुकूल संशोधन, मौद्रिक नीतिमार्फत तत्काल समस्या समाधान, सूचना प्रविधि, स्वच्छ ऊर्जा, शिक्षा र पर्यटनमा लगानी विस्तार तथा अन्तरसरकारी निकायबीच वान–विन्डो प्रणाली लागू गर्नुपर्ने सुझाव पनि दिनुभएको छ।
व्यवसायीमाथि देखिएको डर र त्रासबारे बोल्दै उहाँले वित्तीय अपराधको अनुसन्धान गर्दा पनि लगानी वातावरण प्रभावित नहुने गरी अनुसन्धान प्रक्रिया अपनाउनुपर्ने धारणा राख्नुभयो। अनुसन्धानका क्रममा आवश्यक परे धरौटी, जमानी वा नियमित हाजिरीजस्ता विकल्प प्रयोग गर्न सकिने उहाँको भनाइ छ।
निजी क्षेत्रप्रति समाजमा नकारात्मक धारणा बनेको स्वीकार गर्दै खेतानले उद्योग–व्यवसायले सिर्जना गरेको रोजगारी, राजस्व र आर्थिक योगदानबारे पर्याप्त जानकारी नपुग्दा यस्तो अवस्था आएको बताउनुभयो। निजी क्षेत्रले पनि आफ्नो योगदान बढाएर विश्वास जित्नुपर्ने उहाँको धारणा छ।
वर्तमान सरकारको आर्थिक नीति र बजेटप्रति सकारात्मक टिप्पणी गर्दै उहाँले निम्न तथा मध्यम आय भएका वर्गलाई कर छुट दिनु र नीतिगत चलखेल कम हुनु बजेटका सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो। यद्यपि, दीर्घकालीन आर्थिक सुधारका लागि कानुनभन्दा बढी कार्यान्वयन प्रणाली सुधार आवश्यक रहेको उहाँले बताउनुभयो।
खेतानले अहिले लगानीका लागि वित्तीय अवस्था अनुकूल रहे पनि निजी क्षेत्रले नै नयाँ उद्योग, स्टार्टअप, निर्यात र नवीनतामा जोड दिनुपर्ने बताउनुभयो। चीन र भारतसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेभन्दा नेपालका तुलनात्मक लाभ भएका क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको सुझाव छ।
पुँजी बजारबारे उहाँले छोटो अवधिको नाफाभन्दा दीर्घकालीन लगानीलाई प्राथमिकता दिनुपर्ने बताउँदै कम्पनीको बुक भ्यालु, नाफा कमाउने क्षमता र भविष्यको सम्भावना अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिनुभयो।
भविष्यको योजनाबारे खेतानले डिजिटल वित्तीय सेवा विस्तार, रेमिट्यान्सलाई लगानीसँग जोड्ने, साना उद्यमीलाई प्रविधिमार्फत ऋण उपलब्ध गराउने तथा स्थानीय उत्पादनलाई बजार र निर्यातसँग जोड्ने इकोसिस्टम निर्माणमा आफूहरू केन्द्रित रहेको बताउनुभयो। नयाँ सोच र प्रविधिमा आधारित स्टार्टअपमा लगानी गर्न आफू पूर्ण रूपमा तयार रहेको उहाँको भनाइ छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्