सिन्धुली, साउन १९ — मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा कारसहित बेपत्ता भएका तीन जना र सवारीको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी तथा स्थानीयवासीले मङ्गलबार बिहानदेखि संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरिरहेका छन्। घटनास्थलमा २० जना गोताखोर, २० जना नेपाल प्रहरी र दुई वटा डुङ्गा परिचालन गरिएको भए पनि हालसम्म बेपत्ता व्यक्ति वा कार फेला पर्न सकेको छैन।
प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार सुनकोसी नदीमा पानीको बहाव अत्यधिक रहेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ११ः४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो।
दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय स्काभेटर चालक गणेश थापा तथा तीनपाटन गाउँपालिका–९ डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर कारसहित बेपत्ता भएका छन्।
उता, बेपत्ता व्यक्तिका परिवार, आफन्त र स्थानीयवासीले खोजी कार्यलाई थप प्रभावकारी बनाउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीमाथि कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध गरेका छन्।
गोलन्जोर र फिक्कल गाउँपालिकाको सिमानास्थित वाक्सुखोलामा टायर बालेर चक्काजाम गरिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ।
स्थानीयका अनुसार बस चालकको लापरबाहीका कारण सडक किनारमा रोकिएको कारलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्