काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव तत्काल नहट्ने भएको छ। नेपाल आयल निगमले वितरण प्रणालीमा देखिएको असन्तुलनका कारण समस्या उत्पन्न भएको जनाउँदै अवस्था सामान्य हुन अझै ८ देखि १० दिन लाग्ने जनाएको छ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले ग्यास आयातमा समस्या नभए पनि आधा सिलिन्डरबाट पुनः पूरा सिलिन्डर वितरण सुरु भएपछि एकैपटक माग अत्यधिक बढ्दा वितरण प्रणाली प्रभावित भएको बताए।
बरालका अनुसार मध्यपूर्वको तनावका कारण केही महिनासम्म ७.१ केजीको आधा सिलिन्डर वितरण गरिएको थियो। तर, सरकारको निर्देशनपछि १४.२ केजीको पूरा सिलिन्डर वितरण सुरु भएसँगै उपभोक्ताले एकैपटक सिलिन्डर भर्न थालेपछि बजारमा असहज अवस्था देखिएको हो।
उनले भारतीय पक्षसँग थप ग्यास आयातका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिँदै अबको ८–१० दिनभित्र आपूर्ति क्रमशः सहज हुने विश्वास व्यक्त गरे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले उपभोक्ताको घरमा रहेका खाली सिलिन्डर समयमै पुनर्भरणका लागि नफर्किएकाले पनि समस्या बढेको बताए। उनका अनुसार तीन महिनाको प्रारम्भिक अध्ययनमा करिब २३ लाख सिलिन्डर पुनर्भरण हुन नसकेको देखिएको छ, जसका कारण एकैपटक माग बढेर मासिक खपत ६० हजार मेट्रिक टनसम्म पुगेको छ।
निगमका अनुसार पछिल्लो डेढ महिनामा करिब ५० हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ। भारतसँग थप आपूर्तिका लागि आग्रह गरिए पनि भारतीय पक्षले मासिक ५० हजार ५०० मेट्रिक टनभन्दा बढी उपलब्ध गराउन नसक्ने जनाएको छ। यद्यपि हाल १० देखि १५ हजार मेट्रिक टनसम्म अतिरिक्त लोडिङ भइरहेको निगमको भनाइ छ।
सचिव दुवाडीले दीर्घकालीन समाधानका लागि विद्युतीय ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै खाना पकाउने ग्यासमाथिको निर्भरता क्रमशः घटाउनुपर्ने बताए।
निगमले हाल ४१ जिल्लामा ग्यास वितरण अवस्था सामान्य रहेको, २८ जिल्लामा व्यवस्थापन सुधार गर्नुपर्ने र ८ जिल्लामा अपेक्षाकृत बढी समस्या रहेको जनाएको छ। स्थानीय प्रशासनसँग समन्वय गरेर वितरणलाई व्यवस्थित बनाउने प्रयास भइरहेको पनि निगमले जानकारी दिएको छ।
यता, एलपी ग्यास उद्योग संघ नेपालले बजारमा ग्यासको आयात नियमित भइसकेकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ। संघले कम्तीमा एक महिनाका लागि ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न र विक्रेतालाई पारदर्शी रूपमा वितरण गर्न अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्