काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै नियमित माग धान्न सक्ने गरी ग्यास आयात भइरहेको जनाएको छ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न माध्यमबाट ग्यास अभावसम्बन्धी समाचार र सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ। मन्त्रालयका अनुसार अघिल्ला वर्षको यही अवधिको तुलनामा अहिले पर्याप्त परिमाणमा ग्यास आयात तथा वितरण भइरहेको छ।
मन्त्रालयले साउन महिनादेखि पुनः १४.२ केजीको भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताको माग एकाएक बढेकाले वितरणमा केही असहजता देखिएको जनाएको छ।
पर्याप्त ग्यास आयात सुनिश्चित गर्न नेपाल आयल निगममार्फत आवश्यक समन्वय र कूटनीतिक पहल निरन्तर जारी रहेको तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत बजार अनुगमनलाई समेत तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।
केही दिनभित्रै वितरण प्रणाली पूर्ण रूपमा सहज हुने विश्वास व्यक्त गर्दै मन्त्रालयले उपभोक्तालाई अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा सञ्चय नगर्न आग्रह गरेको छ।
यस्तै, वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्ताको पहिचान गरी उनीहरूलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम, ग्यास उद्योग तथा विक्रेता–डिलरहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्