काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्व विकास प्रतिवेदन २०२६’ ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विकासोन्मुख देशहरूका लागि आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधार बन्न सक्ने निष्कर्ष निकालेको छ। प्रतिवेदनले विद्युत्, इन्टरनेट पहुँच, सीप विकास र संस्थागत क्षमता सुदृढ गर्न सके एआईले दशकौँ लाग्ने विकासको लक्ष्य छोटो अवधिमै हासिल गर्न सहयोग पुग्ने उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार विकासोन्मुख देशहरूमा एआईका कारण रोजगारी गुम्ने जोखिम विकसित मुलुकको तुलनामा कम छ। उच्च आय भएका देशहरूमा १४.२ प्रतिशत रोजगारी जोखिममा पर्ने अनुमान गरिए पनि न्यून तथा मध्यम आय भएका देशहरूमा यो दर ४.५ प्रतिशत मात्र रहेको छ।
यसैगरी, विकासोन्मुख देशहरूका करिब १६.२ प्रतिशत रोजगारीमा एआईमार्फत उत्पादकत्व उल्लेखनीय रूपमा वृद्धि हुन सक्ने प्रतिवेदनले औँल्याएको छ। एआईको मुख्य भूमिका कामदारलाई विस्थापित गर्नु नभई उनीहरूको दक्षता र कार्यक्षमता बढाउनु रहेको विश्व बैंकको निष्कर्ष छ।
विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले विकासोन्मुख देशहरूले महँगा डाटा सेन्टर वा जटिल एआई मोडेल निर्माण गर्नुभन्दा स्थानीय आवश्यकता अनुरूप कम लागतका एआई प्रविधिको उपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ। उहाँका अनुसार स्वास्थ्य, शिक्षा, कृषि तथा न्याय प्रणालीमा यस्ता प्रविधिको प्रयोगले उल्लेखनीय सुधार ल्याउन सकिन्छ। यद्यपि, त्यसका लागि भरपर्दो विद्युत् र इन्टरनेट पहुँच सुनिश्चित गर्नु अत्यावश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ।
प्रतिवेदनले विकासोन्मुख देशहरूका लागि एआई विकासको तीन चरणको रणनीति पनि प्रस्ताव गरेको छ। पहिलो चरणमा उपलब्ध एआई प्रविधिको उपयोग गर्ने, दोस्रो चरणमा त्यसलाई स्थानीय भाषा र आवश्यकता अनुरूप अनुकूलन गर्ने तथा तेस्रो चरणमा आफ्नै उन्नत एआई प्रविधि विकासतर्फ अघि बढ्ने सुझाव दिइएको छ।
विश्व बैंकले धेरै विकासोन्मुख मुलुकमा अझै पनि विद्युत् र इन्टरनेट पूर्वाधार कमजोर रहेको औँल्याउँदै यी आधारभूत पूर्वाधारबिना एआईबाट अपेक्षित लाभ लिन कठिन हुने जनाएको छ। उदाहरणका रूपमा उप–सहारा अफ्रिकाका करिब एकतिहाइ ग्रामीण विद्यालयमा अझै भरपर्दो विद्युत् सुविधा नपुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनले एआईको बढ्दो प्रयोगसँगै तथ्यांकको गोपनीयता, साइबर सुरक्षा र सार्वजनिक विश्वास कायम राख्नु सरकारहरूको प्रमुख चुनौती हुने चेतावनी पनि दिएको छ। सरकारी निर्णय प्रक्रियामा एआईको प्रयोग गर्दा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न नसके सार्वजनिक विश्वास कमजोर हुन सक्ने विश्व बैंकको भनाइ छ।
विश्व बैंकले आगामी दिनमा ‘मिसन ३००’ लगायतका कार्यक्रममार्फत विकासोन्मुख देशहरूमा ऊर्जा, डिजिटल पूर्वाधार र एआई प्रविधिको पहुँच विस्तार गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्