काठमाडौं । सरकार र दिवङ्गत रवीन्द्र मेहताका परिवारबीच भएको संवाद सकारात्मक रहेको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ।
गृहमन्त्री गुरुङ मङ्गलबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर परिवारका सदस्यसँग भेटवार्ता गर्नुभएको थियो। उहाँको उपस्थितिमा भएको छलफलमा सरकारले परिवारका तर्फबाट उठाइएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ।
गृहमन्त्री गुरुङले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारलाई आवश्यक राहत, सहयोग तथा न्याय सुनिश्चित गर्न सरकार तयार रहेको आश्वासन दिनुभएको थियो।
वार्तामा सहभागी परिवारका सदस्यहरूले मृतकका बुबाआमासँग थप परामर्श गरेपछि बुधबार पुनः छलफल गर्ने जानकारी दिनुभएको छ। साथै, उहाँहरूले शव बुझेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाउन सहमति जनाउनुभएको सचिवालयले जनाएको छ।
गृहमन्त्रीको सचिवालयका अनुसार सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको छ। बुधबार पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी गरिएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा गम्भीर घाइते हुनुभएका २२ वर्षीय रवीन्द्र मेहताको मङ्गलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्