काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी अक्टोबर ४ देखि नोभेम्बर २१, २०२७ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने भएको हो।
क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फोका अनुसार विश्वकप छनोट प्रतियोगिता भने फेब्रुअरी २२ देखि मार्च २३, २०२७ भित्र सम्पन्न गरिसक्नुपर्नेछ। यससँगै आइसिसीले विश्वकप छनोटको ढाँचामा पनि परिवर्तन गरेको छ।
नयाँ व्यवस्थाअनुसार छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोली सिधै १४ टोली सहभागी हुने मुख्य विश्वकपमा पुग्नेछ। दोस्रोदेखि चौथो स्थानमा रहने टोलीले सुपर सिरिजको पहिलो चरण खेल्नुपर्नेछ, जहाँ शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको अन्तिम स्थान सुरक्षित गर्नेछ।
छनोट प्रतियोगितामा आइसिसी एकदिवसीय वरीयताका पूर्ण सदस्य राष्ट्रमध्ये आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक, आइसिसी क्रिकेट विश्वकप लिग–२ बाट छनोट भएका चार टोली र प्लेअफबाट आएका चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालका लागि भने विश्वकप पुग्ने यात्रा थप चुनौतीपूर्ण बनेको छ। लिग–२ को शीर्ष स्थानमा रहेर सिधै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त भइसकेको छ। अब नेपालले प्लेअफमार्फत अघि बढ्नुपर्ने अवस्था रहेको छ।
हाल लिग–२ मा सहभागी आठ टोलीमध्ये नेपाल ३२ खेलबाट २४ अंकसहित छैटौँ स्थानमा छ। प्रत्येक टोलीले ३६ खेल खेलिसकेपछि शीर्ष चार टोली मात्रै विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने प्रावधान छ। यद्यपि, आइसिसीले प्लेअफको विस्तृत ढाँचा भने अझै सार्वजनिक गरेको छैन।
नेपालका लागि अर्को चुनौती एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु पनि हो। त्यसका लागि नेपाल लिग–२ को शीर्ष ६ भित्र रहनैपर्छ।
नेपालले हालसम्म तीन पटक टी–२० विश्वकप खेले पनि एकदिवसीय विश्वकपमा भने पहिलो सहभागिताको प्रतीक्षा अझै जारी छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्