काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय सुधार गर्दै आफ्नो खुद नाफा ३५ दशमलव ३४ प्रतिशतले बढाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँभन्दा उल्लेख्य बढी हो। यससँगै बैंकको प्रतिसेयर आम्दानी पनि २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ।
बैंकका अनुसार खुद ब्याज आम्दानी, फि तथा कमिसन आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानी व्यवस्थामा आएको ठूलो कमीले नाफा बढाउन मुख्य भूमिका खेलेको हो। सम्भावित कर्जा जोखिमका लागि छुट्याइने रकम अघिल्लो वर्षको तुलनामा करिब ९२ प्रतिशतले घटेपछि सञ्चालन मुनाफा पनि ४२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप करिब ९८ अर्ब ४७ करोड रुपैयाँ र कर्जा प्रवाह ७८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा एक अर्ब २१ करोड रुपैयाँ नाघेसँगै बैंकले करिब २० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिएको छ। वित्तीय सूचकहरू पनि सन्तोषजनक रहेकाले बैंकको समग्र वित्तीय अवस्था मजबुत बन्दै गएको संकेत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्