काठमाडौं । यस वर्ष पनि करिब एक साताको अन्तरमा दुई ठूला अटो प्रदर्शनी आयोजना हुने भएका छन्। नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ भने १८औँ नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुनेछ। दुवै प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, विद्युतीय सवारी, हाइब्रिड प्रविधि तथा अटोमोबाइल क्षेत्रका नयाँ उत्पादन सार्वजनिक गरिनेछन्।
यस वर्ष विशेषगरी दुईपाङ्ग्रे विद्युतीय तथा प्रिमियम मोटरसाइकलमा आकर्षण देखिएको छ। नाइमा एक्स्पोमा बजाज, टीभीएस, होण्डा, केटीएम, रोयल इन्फिल्ड, अल्ट्राभायोलेट, ट्रायम्फ, सुजुकीलगायत १८ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् भने नाडा अटो शोमा यामाहा, हिरो, भिडा, रोयल इन्फिल्ड, यात्री, क्युजे मोटरलगायत प्रमुख ब्रान्डले आफ्ना नयाँ मोडल प्रदर्शन गर्नेछन्।
प्रदर्शनीमा यामाहा एक्सएसआर–१५५, ‘मेड इन नेपाल’ यात्री पी–२, भिडा भिएक्स–२ ईभी स्कुटर, बजाज चेतक, रिभर इन्डी, टीभीएस अर्बिटर, मोर्बिडेली टी–२५० एक्स तथा अल्ट्राभायोलेटका अत्याधुनिक विद्युतीय मोटरसाइकल र स्कुटर मुख्य आकर्षण रहनेछन्। आयोजकका अनुसार यस वर्ष ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक गरिने भएकाले अटो पारखी र सम्भावित ग्राहकका लागि दुवै प्रदर्शनी विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्