काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विधानसम्मत, वैधानिक र पार्टीका सदस्यको अधिकारअनुसार सम्पन्न भएको दाबी गरेका छन्। उनले यसको वैधानिकतालाई पार्टीको महाधिवेशन, निर्वाचन आयोग तथा सर्वोच्च अदालतले समेत पुष्टि गरिसकेको बताएका छन्।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले विशेष महाधिवेशन केवल आवश्यक मात्र नभई पार्टीका सार्वभौम सदस्यको अधिकार प्रयोगको परिणाम भएको बताए।
उनले भने, “विशेष महाधिवेशन आवश्यक मात्र थिएन, यो हाम्रो अधिकारको विषय पनि थियो। यसको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ।”
सर्वोच्च अदालतले पुनः पुष्टि गर्नुपर्ने आदेश दिएको उल्लेख गर्दै थापाले त्यसलाई आफ्नो पक्षको वैधानिकता थप प्रमाणित गर्ने अवसरका रूपमा लिएको बताए।
‘राजनीति सत्ता प्राप्तिको माध्यम मात्र होइन’
यसैबीच, भक्तपुरमा आयोजित राजनीतिज्ञ श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानद्वारा आयोजित रक्तदान तथा स्टेशनरी वितरण कार्यक्रममा सभापति थापाले राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यमका रूपमा नहेर्न आग्रह गरे।
उनले सत्ता र शक्ति आफैंमा लक्ष्य नभई नागरिकको सेवा गर्ने साधन मात्र भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, जनउत्तरदायित्व र सेवाभावलाई राजनीतिले आत्मसात् गर्नुपर्ने धारणा राखे।
थापाले कांग्रेसभित्र रहेका आन्तरिक मतभेद र मनमुटाव अन्त्य गर्दै पार्टीलाई थप एकताबद्ध बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
“हामीले पार्टीको आत्मा नमर्ने गरी कांग्रेसलाई पुनर्जीवित गर्नुपर्छ। अग्रज पुस्ताले कांग्रेसप्रति गरेको गौरव आजको पुस्ताले पनि गर्न सक्ने वातावरण बनाउनु हाम्रो जिम्मेवारी हो,” उनले भने।
केन्द्रीय समिति बैठक आजदेखि
सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी निर्णय पुनरवलोकन गर्न आदेश दिएको सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि बस्ने भएको छ।
महामन्त्री गुरुराज घिमिरेका अनुसार बैठकमा १५औँ महाधिवेशनको तयारी, पार्टीको संगठनात्मक संरचना, आन्तरिक एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिनेछ।
देउवा समूहको राष्ट्रिय भेला पनि हुँदै
उता, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले साउन २९ गतेदेखि राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ।
भेला आयोजक समितिका संयोजक एवं कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले सर्वोच्च अदालतको पछिल्लो आदेशले पार्टीभित्र एकताको सम्भावना बढाएको दाबी गरे। उनले पूर्वसभापति देउवा पनि साउन २८ गते स्वदेश फर्किएपछि भेलामा सहभागी हुने जानकारी दिए।
महामन्त्री गुरुराज घिमिरेले भने पार्टीभित्र हुने कुनै पनि भेला वा कार्यक्रमको उद्देश्य संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउने हुनुपर्नेमा जोड दिए। उनका अनुसार भेला आयोजना हुनु अस्वाभाविक नभए पनि त्यसको औचित्य र प्रभाव यसको उद्देश्यले निर्धारण गर्नेछ।
कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिकता, सर्वोच्च अदालतको पछिल्लो आदेश, केन्द्रीय समिति बैठक र समानान्तर राजनीतिक गतिविधिका कारण आगामी केही दिन पार्टीको आन्तरिक राजनीतिले नयाँ मोड लिन सक्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्