लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले कृषि क्षेत्रको विकास, स्थानीय उत्पादनको बजारीकरण र किसानका साझा समस्याको समाधान खोज्ने उद्देश्यले कृषि सञ्जालमा आबद्ध पदाधिकारी तथा कृषकसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गरेको छ।
पोखरा महानगरपालिका–२६ देखि ३३, रूपा गाउँपालिका र मादी गाउँपालिकाका कृषक तथा कृषि सञ्जालका प्रतिनिधिको सहभागितामा आयोजित कार्यक्रममा स्थानीय कृषि उत्पादनलाई व्यावसायिक बनाउने, बजारको पहुँच विस्तार गर्ने र कृषि उद्यमलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी बनाउने विषयमा व्यापक छलफल भएको थियो।
छलफलमा आगामी असोज महिनादेखि फ्लाई दुबईको नियमित उडान सञ्चालन हुने सन्दर्भलाई अवसरका रूपमा उपयोग गर्दै कास्कीमा उत्पादित कृषिवस्तुलाई खाडी मुलुकसम्म निर्यात गर्ने सम्भावना र त्यसका लागि आवश्यक तयारीबारे विशेष रूपमा विचार आदानप्रदान गरिएको थियो।
सहभागीहरूले स्थानीय कृषि उत्पादनको स्थायी बजार सुनिश्चित गर्ने, कृषि उत्पादन प्रशोधन उद्योग स्थापना गर्ने, किसानलाई व्यवसायसँग प्रत्यक्ष जोड्ने, बाँझो जमिनलाई व्यावसायिक खेतीमा उपयोग गर्ने तथा स्वदेशी उत्पादनको उपभोग बढाउने विषयमा आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा किसानलाई गुणस्तरीय मल, उन्नत बिउ र आधुनिक कृषि प्रविधिमा सहज पहुँच उपलब्ध गराउने, सहुलियतपूर्ण कृषि कर्जा तथा कृषि बिमाको दायरा विस्तार गर्ने, युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने तथा स्थानीय र रैथाने बालीको संरक्षणसँगै व्यावसायीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको थियो।
यसैगरी पोखरा महानगरपालिकाले ब्रान्डिङ गरेका जेठोबुढो चामल र उखुबाट उत्पादित खुदो जस्ता स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरणका उपाय अपनाउने तथा कृषि उत्पादनलाई पर्यटन उद्योगसँग जोडेर आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने विषयमा पनि छलफल केन्द्रित भएको थियो।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि र दिगो बजार व्यवस्थापनका लागि निजी क्षेत्र, स्थानीय सरकार र किसानबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन्।
कृषि आधुनिकीकरण महाशाखा कास्कीका प्रमुख गोविन्द श्रेष्ठ, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया, व्यवसाय प्रवर्द्धन शाखाका प्रमुख नवराज अधिकारी, अलसामान इन्टरनेसनलका प्रोप्राइटर कल्याण घिमिरे, संघका पूर्वअध्यक्ष बाबुराम गिरी र दयाराम तिवारी, महासचिव भरतराज ओझालगायतले स्थानीय उत्पादनको गुणस्तर सुधार, निर्यात प्रवर्द्धन र किसानमुखी नीतिको आवश्यकतामाथि जोड दिएका थिए।
कार्यक्रममा सहभागीहरूले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न उत्पादनदेखि प्रशोधन, ब्रान्डिङ, ढुवानी र बजारीकरणसम्म एकीकृत योजना आवश्यक रहेको निष्कर्ष निकाल्दै सार्वजनिक–निजी साझेदारीमार्फत कृषि क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्