काठमाडौं । लघुकथा समाज नेपालले यस वर्षको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ लघुकथाकार अल्पविरामलाई प्रदान गर्ने निर्णय गरेको छ।
हरेक वर्ष भदौ ५ गते प्रदान गरिँदै आएको उक्त सम्मान यस वर्ष लघुकथा क्षेत्रमा लामो समयदेखि क्रियाशील अल्पविरामलाई प्रदान गर्न लागिएको समाजले जनाएको छ।
साहित्यिक क्षेत्रमा अल्पविराम नामले परिचित उनको वास्तविक नाम विष्णुकुमार श्रेष्ठ हो। लघुकथा लेखनमा सक्रिय श्रेष्ठको ‘अनुभूतिका रङहरू’लघुकथाकृति प्रकाशित छ। उनले लघुकथाबाहेक अन्य साहित्यिक विधामा समेत कृति प्रकाशन गरेका छन्।
लघुकथा दिवसमा सम्मान
लघुकथा समाज नेपालले आगामी भदौ ५ गते लघुकथा दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा अल्पविरामलाई सम्मान प्रदान गर्नेछ।
समाजका अध्यक्ष तुलसीहरि कोइरालाका अनुसार सम्मान कार्यक्रमलाई साहित्य र रंगमञ्चसँग जोड्दै विशेष प्रस्तुति पनि राखिनेछ।
उनका अनुसार सर्वनाम नाटकघरका कलाकारहरूले सम्मानित लघुकथाकार अल्पविरामका दुई लघुकथालाई नाट्यरूपान्तरण गरी मञ्चन गर्नेछन्।
यसबाट लघुकथालाई पुस्तकका पानाबाट बाहिर ल्याएर रंगमञ्चमार्फत पनि पाठक तथा दर्शकमाझ पुर्याउने प्रयास हुने समाजले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्