विराटनगर । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको आपूर्ति संकट गहिरिँदै गएको छ। पूर्वी नेपालमा स्वदेशी उद्योगबाट दैनिक ठूलो परिमाणमा चिनी बजारमा पठाइए पनि उपभोक्ताले भने त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्।
सुनसरीस्थित इस्टर्न सुगर मिलबाट मात्रै दैनिक सरदर २ सय ५० क्विन्टल चिनी बजारमा पठाइँदै आएको छ। तर विराटनगर र आसपासका बजारमा स्वदेशी चिनी सहज रूपमा उपलब्ध छैन। बजारमा भने सीमावर्ती भारतीय बजारबाट तस्करी भएर आएको चिनीको कारोबार भइरहेको व्यवसायीहरू बताउँछन्।
विराटनगरका बजारमा अहिले चिनी प्रतिकिलो १०५ देखि ११० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सीमावर्ती भारतीय बजार जोगवनीमा भने चिनीको मूल्य प्रतिकिलो करिब ७५ देखि ७६ रुपैयाँ छ। व्यापारीका अनुसार त्यही चिनी अवैध रूपमा नेपाल भित्रिँदा ढुवानी, जोखिम र अन्य खर्च जोडिएर नेपाली बजारमा प्रतिकिलो करिब १०० रुपैयाँसम्म पर्छ।
त्यसपछि खुद्रा बजारमा उपभोक्ताले १०५ देखि ११० रुपैयाँसम्म तिर्नुपर्छ।
भारतले चिनी निर्यातमा रोक लगाएपछि इस्टर्न सुगर मिलबाट चिनी बाहिरिने क्रम बढेको छ। उद्योगका अनुसार भारतबाट आयात हुने चिनीको आपूर्ति बन्द भएपछि स्वदेशी उत्पादनको माग बढेको हो।
उद्योगबाट भ्याटसहित प्रतिकिलो ९५ रुपैयाँ ५ पैसाका दरले चिनी बाहिरिँदै आएको छ। भारतले प्रतिबन्ध लगाएयता मात्रै इस्टर्न सुगर मिलबाट करिब ४० हजार क्विन्टल चिनी बजारमा पठाइसकिएको उद्योगको तथ्यांक छ। तर स्थानीय बजारमा स्वदेशी चिनीको उपलब्धता भने त्यसअनुसार देखिँदैन।
व्यावसायिक स्रोतहरूका अनुसार उद्योगबाट व्यापारीले खरिद गरेको चिनी तत्काल बजारमा पठाउनुको सट्टा आगामी दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर गोदाममा थन्क्याउने गरिएको छ।
स्रोतका अनुसार अहिले करिब ९५ रुपैयाँमा खरिद गरिएको चिनी चाडपर्वको समयमा महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले भण्डारण भइरहेको छ। यही अवस्था कायम रहे चाडपर्वको समयमा चिनीको मूल्य प्रतキिलो १६० रुपैयाँसम्म पुग्न सक्ने व्यवसायिक क्षेत्रका केही व्यक्तिको दाबी छ।
तर यस्तो दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।
इस्टर्न सुगर मिलका प्रशासन प्रमुख रितेश अग्रवाल भने उद्योगबाट चिनी बिक्री भइसकेपछि त्यो कहाँ पुग्छ भन्ने विषय उद्योगको प्रत्यक्ष सरोकारको विषय नभएको बताउँछन्।
‘उद्योगबाट निस्किएको चिनी कहाँ पुग्छ, त्यो उद्योगको सरोकारको कुरा भएन,’ अग्रवालले भने, ‘त्यो चिनी कहाँ पुग्छ, खोजी गर्ने कर्तव्य स्थानीय प्रशासन र सरोकारवालाको हो।’
दुई दर्जन फर्मका नाममा चिनी, बजारमा भने अभाव
इस्टर्न सुगर मिलको तथ्यांकअनुसार विराटनगरसहित सुनसरी, झापा, काठमाडौं, सिन्धुली, नारायणघाट र धनकुटालगायतका जिल्लाका व्यापारिक कम्पनी तथा बिस्कुट, कन्फेसनरी र जुस उद्योगका नाममा चिनी बाहिरिएको छ।
विराटनगरका सरश्याम सप्लायर्स, साउमिक इन्टरनेशनल, मनु स्टोर, जयगुरु कृष्ण स्टोर, लक्की ब्रदर्स एण्ड ब्रदर्स, ऐश्वर्य ट्रेड सेन्टर र अजय किराना पसललगायतका व्यापारिक फर्मका नाममा चिनी गएको उद्योगको विवरणमा उल्लेख छ।
त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेसनरी लिमिटेड, एसियन थाइफुड्स लिमिटेड, क्वालिटी थाई फुड्स र दुगड स्पाइस एण्ड फुड्स प्रालिका नाममा पनि उल्लेख्य मात्रामा चिनी गएको उद्योगको तथ्यांक छ।
उद्योगबाट खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने उद्योगका नाममा गएको चिनी सम्बन्धित उद्योगमै खपत हुने गरेको मानिए पनि व्यापारिक फर्मका नाममा बाहिरिएको ठूलो परिमाणको चिनी बजारमा देखिन नसकेको व्यवसायीहरूको भनाइ छ। यसले स्वदेशी चिनीको वास्तविक वितरण प्रणालीमाथि नै प्रश्न उठाएको छ।
विराटनगरका एक थोक व्यापारीका अनुसार बजारमा स्वदेशी चिनीको माग भए पनि सहज रूपमा उपलब्ध छैन।
‘स्वदेशी चिनी पाइँदै पाइँदैन। तस्करीबाट आएको भारतीय चिनी बिक्री गर्दैछौँ,’ ती व्यापारीले भने। उनका अनुसार जोगवनीमा समेत पछिल्लो समय चिनीको मूल्य बढेर प्रतिकिलो ७५/७६ रुपैयाँ पुगेको छ।
‘त्यही चिनी तस्करी भएर यहाँ आइपुग्दा किलोको १०० रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘त्यही चिनी व्यापारीले १०५ देखि ११० रुपैयाँमा बिक्री गर्दै आएका छन्।’ उनका अनुसार स्थानीय उद्योगबाट करिब ९५ रुपैयाँमा खरिद गरिएको चिनी साना व्यापारीलाई सहज रूपमा उपलब्ध नगराउँदा बजारमा कृत्रिम अभाव सिर्जना भएको छ।
‘ठूला व्यापारीले स्थानीय उद्योगबाट चिनी ल्याएर कार्टेलिङ गरिरहेका छन्,’ उनले भने, ‘उनीहरूले ९५ रुपैयाँमा किनेको चिनी १०५ रुपैयाँमा बिक्री गर्छन्। तर त्यही मूल्यमा पनि साना व्यापारीलाई दिँदैनन्।’
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि जोगवनीबाट सर्वसाधारणले चिनी ल्याउनसमेत कडाइ गरिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक व्यक्तिलाई बढीमा करिब दुई किलोसम्म मात्र चिनी बोकेर नेपाल आउन दिने गरेको बताइएको छ।
तर सर्वसाधारणको आवागमनमा गरिएको कडाइले तस्करी नियन्त्रण गर्न सकेको छैन।
भारतबाट नेपालतर्फ चिनीको अवैध आयात बढेको तथ्यांकले समेत देखाउँछ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले साउनको तेस्रो सातामा मात्रै ७ लाख ८० हजार २५५ रुपैयाँ बराबरको १० टन अवैध चिनी बरामद गरेको छ। त्यसअघि असार महिनामा २ लाख ८४ हजार ८७० रुपैयाँ बराबरको ४ टन चिनी बरामद भएको थियो।
यसले भारतको प्रतिबन्धपछि सीमावर्ती क्षेत्रमा चिनीको अवैध कारोबार बढेको संकेत गर्छ।
१५ रुपैयाँसम्म बढ्यो मूल्य
भारतले चिनी निर्यातमा रोक लगाएयता नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो करिब १५ रुपैयाँसम्म बढेको व्यवसायीहरू बताउँछन्।
प्रतिबन्धअघि प्रतिकिलो करिब ९५ रुपैयाँमा बिक्री हुँदै आएको चिनी अहिले अधिकांश खुद्रा पसलमा ११० रुपैयाँसम्म पुगेको छ।
भारतले १३ मेदेखि ३० सेप्टेम्बर २०२६ सम्म, वा अर्को सूचना नभएसम्म, चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। आन्तरिक बजारमा मूल्य नियन्त्रण गर्न र आगामी सिजनमा उत्पादन घट्न सक्ने जोखिमलाई ध्यानमा राखेर भारतले यस्तो निर्णय गरेको बताइएको छ।
विश्वकै दोस्रो ठूलो चिनी उत्पादक भारतमा उखु उत्पादनमा असर पर्ने र आगामी सिजनमा चिनी उत्पादन घट्न सक्ने अनुमानपछि आन्तरिक आपूर्ति सुरक्षित राख्ने उद्देश्यले निर्यात नियन्त्रण गरिएको हो।
भारतले यसअघि पनि न्यून वर्षाका कारण उखु उत्पादन घटेको भन्दै सन् २०२३ को सेप्टेम्बरमा नेपालतर्फ चिनी निर्यात रोकेको थियो। त्यस समयमा मुख्य चाडपर्वको मौसम परेकाले नेपाली बजारमा चिनीको अभाव देखिएको थियो। दसैंअघि चिनीको मूल्य कालोबजारीमा प्रतिकिलो ८५ रुपैयाँबाट बढेर १६० रुपैयाँसम्म पुगेको थियो।
यसपटक पनि उस्तै अवस्था दोहोरिन सक्ने भन्दै उपभोक्तावादीहरूले चिन्ता व्यक्त गरेका छन्।
उपभोक्तावादीहरूको आरोप छ—चाडपर्व नजिकिँदै गए पनि सरकारले आपूर्ति व्यवस्थापनका लागि प्रभावकारी नीति र बजार अनुगमन संयन्त्र सक्रिय बनाउन सकेको छैन। यही कमजोरीको फाइदा उठाउँदै व्यापारीले कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने जोखिम बढेको उनीहरूको भनाइ छ।
आयात ९० प्रतिशतभन्दा बढेको तथ्यांक
नेपालमा चिनीको माग धान्न स्वदेशी उत्पादन पर्याप्त छैन। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ मा चिनी आयात ९०.१६ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्ष नेपालले करिब ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको ५१ हजार ४८५ टन चिनी आयात गरेको तथ्यांक छ।
नेपाल चिनी उत्पादक संघले भने चालू क्रसिङ सिजनमा देशका १३ वटा चिनी उद्योगले १ लाख ९० हजार ८७० टन चिनी उत्पादन गरेको र त्यसमध्ये करिब १ लाख ८ हजार टन चिनी मौज्दात रहेको दाबी गरेको थियो।
त्यसबेला व्यवसायीसँग करिब २० हजार टन र आयातित चिनी करिब ७० हजार टन मौज्दात रहेको संघको दाबी थियो।
त्यस आधारमा बजारमा तत्काल चिनी अभाव नहुने र मूल्यमा ठूलो दबाब नपर्ने दाबी गरिएको थियो। तर अहिले बजारमा देखिएको अवस्थाले उक्त मौज्दात र वास्तविक बजार आपूर्तिबीच ठूलो अन्तर रहेको देखाएको व्यवसायीहरूको भनाइ छ।
नेपालमा वार्षिक चिनीको खपत ३ लाख टनभन्दा बढी रहेको व्यवसायीहरू बताउँछन्। स्वदेशी उद्योगले उत्पादन गर्ने चिनी भने त्यसको करिब आधा मात्रै पुग्ने गरेको उनीहरूको भनाइ छ।
एक व्यवसायीले भने, ‘खपतको आधा मात्र स्वदेशमा उत्पादन हुन्छ। बाँकी भारतलगायत अन्य मुलुकबाट आयात नभए हाहाकार हुने स्थिति छ।’
उनका अनुसार अहिले स्वदेशी चिनीको वितरणमा समेत कार्टेलिङ देखिएपछि समस्या झन् जटिल बनेको छ।
‘यही अवस्था रहे चिनीको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुग्ने स्थिति छ,’ उनले भने।
भन्सार र करले पनि बढाएको तस्करी
नेपालमा चिनी आयात गर्दा सरकारले १५ प्रतिशत भन्सार महसुल र भ्याट लिँदै आएको छ। व्यवसायीका अनुसार करका कारण भारत र नेपालको बजार मूल्यमा ठूलो अन्तर सिर्जना हुने गरेको छ।
एक व्यवसायीका अनुसार भारतको तुलनामा नेपालमा चिनीको मूल्य प्रतिकिलो कम्तीमा २५ देखि ३० रुपैयाँसम्म महँगो पर्ने भएकाले सीमावर्ती क्षेत्रमा तस्करीका लागि आर्थिक प्रोत्साहन सिर्जना भएको हो।
‘भन्सार महसुल र भ्याटका कारण मूल्यमा ठूलो अन्तर पर्छ,’ ती व्यवसायीले भने, ‘त्यसैले सीमाबाट चिनी तस्करी भएर आउँछ।’
यसरी एकातिर भारतबाट औपचारिक आयात बन्द छ, अर्कोतिर स्वदेशी उद्योगबाट उत्पादन भएको चिनी बजारमा पर्याप्त रूपमा नदेखिँदा उपभोक्ता भने महँगो मूल्यमा तस्करीको चिनी किन्न बाध्य भएको अवस्था देखिएको छ।
इस्टर्न सुगर मिलबाट दैनिक सयौँ क्विन्टल चिनी बजारका लागि बाहिरिइरहेको अवस्थामा विराटनगरलगायतका बजारमा स्वदेशी चिनीको अभाव देखिनुले वितरण प्रणालीको अनुगमनमाथि प्रश्न उठेको छ।
उद्योगबाट कुन व्यापारीले कति चिनी लिए, कहाँ बिक्री भयो, कति मौज्दात राखियो र वास्तविक उपभोक्तासम्म कति पुग्यो भन्ने विषयमा स्थानीय प्रशासन तथा वाणिज्यसम्बन्धी निकायले प्रभावकारी अनुगमन गर्न नसकेको व्यवसायीहरूको आरोप छ।
भारतको प्रतिबन्ध आगामी सेप्टेम्बरसम्म कायम रहने अवस्थामा दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व यही अवधिमा पर्छन्।
त्यसैले अहिले नै आपूर्ति व्यवस्थापन, मौज्दातको पारदर्शी विवरण र बजार अनुगमन प्रभावकारी नबनाए चाडपर्वका बेला चिनीको कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि हुन सक्ने जोखिम बढेको छ।
उद्योगबाट चिनी निस्किरहेको छ, तर उपभोक्ताको भान्सासम्म पुगिरहेको छैन। बजारमा भारतीय चिनी देखिन्छ, तर त्यो औपचारिक आयातबाट होइन, सीमापार तस्करीको बाटोबाट आइरहेको छ। यही विरोधाभासले नेपालको चिनी बजारमा आपूर्ति मात्र होइन, वितरण प्रणाली र नियमनको कमजोरीसमेत उजागर गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्