काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरू ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रमपुगेका छन्। आश्रममा भेला भएका नेताहरूले पार्टीको सम्पूर्ण एकताका लागि संकल्प गरेका छन्।
पत्रकारसँग कुरा गर्दै नेता खड्काले कांग्रेसको आन्तरिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले आफूहरू आश्रममा भेला भएको बताए।
‘पार्टीको सम्पूर्ण एकताका लागि हामी भेला भएका हौँ,’ खड्काले भने।
खड्कासँगै आश्रम पुगेका कांग्रेस नेता रामहरि खतिवडाले सर्वोच्च अदालतले पुनरवलोकनका लागि अनुमति दिएसँगै पार्टी पुनःएकीकरणको दिशामा अघि बढ्ने संकल्प गरिएको बताए।
उनका अनुसार जनजी आन्दोलनपछि किसुनजी आश्रमको सरसफाइसमेत हुन नसकेको अवस्थामा श्रद्धेय नेता कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर पार्टी एकताको संकल्प गरिएको हो।
‘सर्वोच्चले हामीलाई पार्टी पुनःएकीकरणका लागि मौका दिएको छ,’ खतिवडाले भने, ‘जेनजी आन्दोलनपश्चात् किसुनजीको आश्रम पनि सरसफाइ भएको रहेनछ। श्रद्धेय नेता किसुनजीको आश्रमसँगै पार्टीको एकताका लागि हामी संकल्प गर्न त्यहाँ पुगेका हौँ।’
कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विभाजन र पुनःएकीकरणको बहसबीच नेताहरूको किसुनजी आश्रम भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
कृष्णप्रसाद भट्टराई कांग्रेसभित्र सादगी, लोकतान्त्रिक निष्ठा र पार्टी एकताका प्रतीकका रूपमा स्मरण गरिँदै आएका नेता हुन्। उनको आश्रममा पुगेर पार्टी एकताको संकल्प गर्नुले कांग्रेसको वर्तमान राजनीतिक परिस्थितिमा एकताको सन्देश दिन खोजिएको देखिन्छ।
सर्वोच्च अदालतको पुनरवलोकनसम्बन्धी पछिल्लो निर्णयपछि कांग्रेसभित्र पुनःएकीकरणको सम्भावनाबारे छलफल बढिरहेका बेला नेताहरू आश्रम पुगेका हुन्।
अब नेताहरूले आश्रममा व्यक्त गरेको एकताको संकल्पलाई व्यवहारमा कसरी रूपान्तरण गर्छन् भन्ने विषयले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्