काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भएर नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ।
लोकतन्त्रमा निर्वाचित नेतृत्व नागरिकको निगरानी, सुझाव र सम्पर्कमा निरन्तर रहनुपर्ने मान्यताअनुसार रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्न लागेको हो।
रास्वपाका सहमहामन्त्री असिम शाहले विज्ञप्तिमार्फत कार्यक्रममार्फत नागरिकका समस्या, सुझाव र अपेक्षालाई राज्यको नीति निर्माण तथा कार्यान्वयन तहसम्म जोड्ने उद्देश्य रहेको जानकारी दिएका छन्।
कार्यक्रमको पहिलो चरणमा एक घण्टा आमनागरिकका लागि खुला गरिनेछ। उक्त अवधिमा उपस्थित मन्त्रीले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा सुन्नुपर्नेछ।
दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक हुनेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा समसामयिक तथा नीतिगत विषयमा छलफल गर्दै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति तय गरिने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रमको उद्देश्य मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउनु, नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्नु तथा पार्टी, संसदीय दल र सरकारबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्नु हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्