नवलपरासी पूर्व, कावासोती । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१६ पत्थरखोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज १००० नम्बरको माइक्रोबस अगाडिको बायाँतर्फको टायर पन्चर भएपछि अनियन्त्रित भई दुर्घटनामा परेको हो। माइक्रोबसमा चालकसहित सात जना सवार थिए।
दुर्घटनामा चालक कावासोती नगरपालिका–८ का २७ वर्षीय होरामणी महतोसहित कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर, उनकी ६२ वर्षीया पत्नी लालकुमारी कुँवर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का ४५ वर्षीय धनराज बुढा र ३६ वर्षीय बलबहादुर बुढा तथा नवलपरासी पश्चिमको सरावल गाउँपालिका–३ का ५५ वर्षीय बिधासागर लोना चमार घाइते भएका छन्।
घाइते सबैलाई तत्कालै मध्यबिन्दु अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि चालक होरामणी महतोलाई कालीगण्डकी अस्पतालमा उपचार गराई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्