काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार साँझ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गर्नुभएको छ। सरकार र रास्वपाबीच पछिल्लो समय तिक्तता बढिरहेको चर्चा भइरहेका बेला भएको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच करिब ४५ मिनेट कुराकानी भएको बूढानीलकण्ठ स्रोतले जनाएको छ। यसअघि पनि उनीहरूबीच करिब चार घण्टा लामो छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाह रास्वपाका वरिष्ठ नेतासमेत हुनुहुन्छ।
रास्वपाका सांसदहरूले आफ्नै सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमा प्रश्न उठाउँदै खबरदारी गर्न थालेपछि प्रधानमन्त्री शाह असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला यो भेट भएको हो। शुक्रबार राति सामाजिक सञ्जालमार्फत शाहले आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको आशय व्यक्त गर्नुभएको थियो।
त्यसपछि रास्वपाका नेता मनिष झाले प्रतिनिधिसभाको बैठकमै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खबरदारी गर्नुभएको थियो।
सरकार सञ्चालन र पार्टीका विषयमा छलफल
रविनिकट स्रोतका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक परिस्थिति, सरकार सञ्चालन, पार्टीका पदाधिकारी मनोनयन तथा राजदूत नियुक्तिलगायत विषयमा छलफल भएको छ।
रास्वपामा उपसभापति मनोनयनको विषयसमेत टुंगिन सकेको छैन। उपसभापतिका लागि गृहमन्त्री सुधन गुरुङ वा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमध्ये कसलाई जिम्मेवारी दिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको स्रोतले जनाएको छ।
पार्टीका पदाधिकारी तथा सदस्य मनोनयनका लागि साउन १३ गते केन्द्रीय समितिको दोस्रो बैठक बसे पनि बालेन पक्षबाट नाम नदिइएका कारण प्रक्रिया लम्बिएको रविनिकट स्रोतको दाबी छ।
सरकारी नियुक्तिबारे पनि छलफल
स्रोतका अनुसार सरकारले विभिन्न निकायमा गरेका नियुक्तिका विषयमा समेत दुई नेताबीच गम्भीर छलफल भएको छ। नियुक्ति पाएका केही व्यक्तिको विगतको पृष्ठभूमि विवादित रहेको तथा पटक–पटक अवसर पाउँदै आएका व्यक्तिलाई पुनः जिम्मेवारी दिइएको विषयमा समेत छलफल भएको बताइएको छ।
सरकार तथा पार्टीबीचको समन्वयलाई आगामी दिनमा थप प्रभावकारी बनाउने विषयमा पनि दुई नेताबीच कुराकानी भएको स्रोतको भनाइ छ।
नियमित भेट भएको दाबी
दुई नेताबीचको भेटलाई कुनै असहज परिस्थिति वा विवादको परिणामका रूपमा लिन नहुने स्रोतले जनाएको छ। स्रोतका अनुसार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल गर्न बालेन र रविबीच नियमित रूपमा भेटघाट हुँदै आएको छ।
“कहिले प्रधानमन्त्री सभापतिको निवासमा पुग्नुहुन्छ, कहिले सभापति बालुवाटार आउनुहुन्छ,” स्रोतको भनाइ छ, “पार्टी र सरकार सञ्चालनका विषयमा कुराकानी हुने नै भयो।”
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्