काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भाषा जीवन्त राख्नु भनेको सभ्यता, संस्कृति र पुर्खाहरूको ज्ञानलाई अगाडि बढाउनु रहेको बताएकी छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन सत्रमा बोल्दै मन्त्री गौतमले भाषाको संरक्षणका लागि त्यसको निरन्तर प्रयोग आवश्यक रहेको बताइन्। सम्मेलनको नारा ‘मातृभाषा पत्रकारिता : भाषा संरक्षण, सांस्कृतिक अधिकार र दिगो विकास’ रहेको छ।
मन्त्री गौतमले कतिपय भाषा समुदायमा अस्तित्वमा रहे पनि प्रयोगमा नल्याए क्रमशः लोप हुने जोखिम रहेको बताइन्। भाषा प्रयोगमा ल्याउनु भनेको त्यससँग जोडिएको सभ्यता, संस्कृति र पुर्खाको ज्ञानलाई समेत निरन्तरता दिनु भएको उनको भनाइ थियो।
राज्यका सबै सूचना देशका सबै क्षेत्रमा पुग्नुपर्ने बताउँदै उनले त्यसका लागि राज्यले आफ्नो तर्फबाट पहल गरिरहेको उल्लेख गरिन्। तर सूचना पहुँचको दूरी अन्त्य गर्न मातृभाषी पत्रकारको भूमिका अझ महत्वपूर्ण रहेको उनले बताइन्।
मन्त्री गौतमले भनिन्, “नेपालको हरेक कुनाकाप्चामा गएर राज्यका सबै सूचना प्राप्त भएको छ कि छैन भनेर सोध्दा कतै न कतै दूरी भेटिन्छ। त्यो दूरी मेटाउने जिम्मेवारी राज्यले आफ्नोतर्फबाट पहल गर्छ, तर यो दूरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी तपाईंहरूको काँधमा छ।”
मातृभाषामा पत्रकारिता गर्ने पत्रकारले आफूलाई हेपिएको वा चेपिएको महसुस नगर्न आग्रह गर्दै उनले यस विषयमा सबै पक्षले आत्मआलोचना गरेर सुधारको बाटोमा अघि बढ्नुपर्ने बताइन्।
सूचनाको पहुँचबाट टाढा रहेका समुदायलाई सूचना दिएर मूलधारमा ल्याउन मातृभाषी पत्रकारले महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री गौतमले उनीहरूप्रति कृतज्ञता व्यक्त गरिन्।
उनले भनिन्, “नेपाली समाजमा रहेका सूचनाको पहुँचबाट टाढा मानिसलाई सूचना दिएर मूलधारमा ल्याउन तपाईंहरूले जुन भूमिका खेल्नुभएको छ, त्यसप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ। तपाईंहरूले पेलिएको, हेपिएको महसुस गर्नुभएको छ भने त्यो महसुस कसको कारणले भएको हो भन्नेबारे सबैले आत्मालोचना गरेर सुधारको बाटोमा जानुपर्छ।”
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्