काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले झापाको दमक, गौरादह तथा सुनसरीको इटहरी क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता, भोल्टेज र प्रणाली क्षमता सुधार गर्न वितरण प्रणाली सुदृढीकरणका काम अघि बढाएको छ।
जुरोपानी ३३/११ केभी सबस्टेसनलाई छुट्टै ३३ केभी लाइनबाट सञ्चालनमा ल्याएपछि दमक र गौरादह वितरण केन्द्रबीचको प्रणालीगत निर्भरता घटेको छ। यसबाट फल्टको प्रभाव न्यूनीकरण हुनुका साथै विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने प्राधिकरणले जनाएको छ।
नयाँ व्यवस्थाले दमक फिडरको पूर्ण सञ्चालन, दमक तथा उर्लाबारी क्षेत्रमा विद्युत् आयात क्षमता वृद्धि र प्रणाली सञ्चालनमा थप सुधार हुने अपेक्षा गरिएको छ।
त्यस्तै, इटहरी–खनार क्षेत्रमा फिडर विभाजन तथा नयाँ जुट विकास फिडर निर्माण गरिएको छ। यसबाट लामो दूरीको एउटै फिडरमा रहेको विद्युत् भार घटाइएको छ।
फिडरमा भार कम भएपछि ओभरलोड तथा भोल्टेज ड्रप घट्नुका साथै भार व्यवस्थापन, आपूर्ति पुनःव्यवस्थापन र विद्युत् गुणस्तरमा सुधार हुने प्राधिकरणको अपेक्षा छ।
प्राधिकरणका अनुसार यी सुधारात्मक कार्यले दमक, गौरादह र इटहरी क्षेत्रमा थप भरपर्दो, गुणस्तरीय, सुरक्षित र दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्न योगदान पुर्याउनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्