पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पहिरोमा परी विद्युत् गृहका कामदार अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय दीपक बरुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। पहिरोमा पुरिएर बेपत्ता भएका बरुवाललाई प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोलीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको हो।
घटनामा गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। उनलाई उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
मंगलबार बिहान विद्युत् गृहभन्दा माथिल्लो भागबाट ढुंगासहितको सुक्खा पहिरो खसेको थियो। पहिरोले १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह तथा त्यहाँ जडान गरिएका उपकरणमा समेत क्षति पुर्याएको छ।
उपकरणमा क्षति पुगेपछि आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयवासीको टोलीले उद्धार तथा क्षतिको विवरण संकलनको काम अघि बढाएको छ।
Originally published on abcnews.com.np.















प्रतिक्रिया दिनुहोस्