पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद पदक वितरण प्रक्रियामा देखिएको विवादबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। पदक वितरणको प्रक्रिया, निर्णयको पारदर्शिता तथा सार्वजनिक रूपमा उठेका प्रश्न र मिलेमतोको आरोपबारे समितिले छानबिन गर्नेछ।
सामाजिक, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिमा खेलकुद महाशाखाका धनश्याम पौडेल र नारायण बास्तोला सदस्य छन्।
सामाजिक, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङका अनुसार मुख्यमन्त्रीको निर्देशनमा समिति गठन गरिएको हो। उनले विवादको वास्तविकता पत्ता लगाएर छिटो प्रतिवेदन बुझाउन समितिलाई आग्रह गरेकी छन्।
‘हामीले समय तोकेका छैनौँ तर जति सक्दो चाँडो विवाद टुंग्याउन भनेका छौँ,’ मन्त्री गुरुङले भनिन्, ‘पदक वितरणपछि आएको विवादको वास्तविकता जान्नका लागि छानबिन समिति बनाइएको हो।’
समितिका संयोजक पौडेलले पदक वितरणको प्रक्रिया तथा सार्वजनिक रूपमा उठेका मिलेमतोसम्बन्धी आरोपबारे छानबिन गरिने बताए। समितिले आगामी २९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पदक वितरण कार्यविधिविपरीत आफूखुसी गरिएको आरोप लगाएका प्रमाणहरू सार्वजनिक भएपछि सरकारले छानबिन अघि बढाएको हो।
बजेटलाई लिएर मन्त्री र सदस्य सचिवबीच मतभेद
यसैबीच खेलकुदमन्त्री गुरुङ र परिषद्का सदस्य सचिव शर्माबीच बजेटका विषयमा समेत मतभेद रहेको खुलेको छ।
गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरूले परिषद्मार्फत नभई सोझै जिल्लामा बजेट उपलब्ध गराउन आग्रह गरेपछि परिषद्का कतिपय योजना कटौती भएका थिए।
परिषद्मा बजेट घटेपछि सदस्य सचिव शर्माले राजीनामा दिने चेतावनीसमेत दिएका थिए। तर, मन्त्री गुरुङले भने आफूले सदस्य सचिवलाई राजीनामा दिन कुनै दबाब नदिएको दाबी गरेकी छन्।
अब छानबिन समितिको प्रतिवेदनपछि पदक वितरण प्रक्रियामा भएको भनिएको अनियमितता, मिलेमतोको आरोप र बजेट विवादबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्